• Saturday 25th of July 2026

अमेरिकाः माइकल ब्लूमबर्गद्वारा चुनावी दौड परित्याग


  • आशाका किरण

न्यूयोर्क, २२ फागुन (रासस/एपी) – अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गर्नु भएको छ । ब्लूमबर्गले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिना पहिले म राष्ट्रपतिको उम्मेदार दौडमा सामेल भएको थिएँ । आज, म त्यही कारणका लागि चुनावी दौड परित्याग गर्दैछु ।” न्यूयोर्क शहरका पूर्व मेयर ब्लूमबर्गले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर खर्च गर्नु भएको थियो । उहाँले अब पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गर्ने बताउनु भएको छ । “डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतीय चुनावमा पराजित गर्न डेमोक्रेटिक पार्टी एकजुट हुनुको विकल्प छैन । पछिल्लो मतदानको नतिजापछि अब प्रष्ट के भएको छ भने मेरो उम्मेदवार जो बाइडेन हुनुहुन्छ, र उहाँले चुनाव जित्ने सम्भावना बढेको छ ।” अमेरिकी अर्बपति व्यापारी ब्लूमबर्गले जनवरीको अन्त्यसम्ममा करिब ४० करोड ९० लाख खर्च गर्नु भएको उहाँले संघीय निर्वाचन आयोगमा बुझाउनु भएको विवरणमा उल्लेख छ ।

तर उहाँले फेब्रुअरीमा पनि निकै बढी खर्च गर्नु भएको विश्वास गरिन्छ । मङ्गलबार भएको १४ वटा राज्यको चुनावमा ब्लूमबर्गले समोआ द्वीपमा मात्र विजय हासिल गर्नु भएको थियो । तर जो बाइडेनले अप्रत्यासित रुपमा १० वटा राज्यमा चुनाव जित्नु भएको थियो । चुनावमा निकै प्रभावशाली मानिएका सिनेटर बर्नी स्यान्डर्सले चार वटा राज्यमा विजयी हुनु भएको थियो । निकै बढी प्रतिनिधि छनौट हुने क्यालिफोर्निया राज्यमा भने स्यान्डर्सले बाजी मार्नु भएको थियो । डेमोक्रेटिक पार्टीका तर्फबाट अब जो बाइडेन वा स्यान्डर्समध्ये एकले आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नु पर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij