• Saturday 25th of July 2026

अमेरिकी प्राइमरी चुनाव, वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा


  • आशाका किरण
Mandatory Credit: Photo by Michael Wyke/AP/Shutterstock (10571256j) Democratic presidential candidate Sen. Elizabeth Warren, D-Mass., speaks to supporters during a town hall, at Discovery Green in Houston Election 2020 Elizabeth Warren, Houston, USA - 29 Feb 2020

क्याम्ब्रिज, २३ फागुन (रासस/एएफपी) – डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेनले पनि अपेक्षित नतिजा ल्याउन नसकेपछि बिहीबार उम्मेदवारी परित्याग गरेको घोषणा गर्नु भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उहाँ एकमात्र महिला प्रतिनिधि हुनुहुन्थ्यो । अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेन मात्र चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । गत मङ्गलबार सम्पन्न चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेकामा दुःखी हुनुभएकी ७० वर्षीया सिनेटर वारेनले म्यासाचुसेट्स राज्यको क्याम्ब्रिजस्थित निवासमा संवाददाताहरुसँग भन्नुभयो, “मैले राष्ट्रपतिका लागि चुनावी दौड स्थगित गरेकी छु । तर म प्रत्येक सङ्घर्षशील व्यक्तिहरुको पक्षमा निरन्तर कार्य गर्नेछु ।” तर उहाँले राष्ट्रपतिको चुनावी दौडमा बाँकी रहनुभएका दुई वयोवृद्ध व्यक्ति जो बाइडेन वा बर्नी स्यान्डर्समध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णयमा पुगिनसकेको बताउनुभयो ।

एमएसएनबीसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै सिनेटर वारेनले आफूले जो बाइडेनलाई अति सम्मान गर्ने तर उहाँसँग धेरै विषयमा विमती रहेको बताउनुभयो । उहाँले स्यान्डर्ससँग आफ्नो नजिकको सम्बन्ध रहेको र धेरै विषयमा मिलेर सहकार्य गरेको प्रतिक्रिया दिनुभयो । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने गरी कुनै पनि महिला छनौट हुन नसक्नु दुःखद भएको बताउनुभयो । “अमेरिकी महिलाहरुले देशको सर्वोच्च पदका लागि अरु चार वर्ष कुर्नु पर्ने भयो ।” मिनेसोटाकी सिनेटर एमी क्लोबुचरले पनि यसै साता उम्मेदवारी परित्याग गर्नु भएको थियो भने अरु दुई महिला सिनेटरहरु क्यालिफोर्नियाकी कमला ह्यारिस र न्यूयोर्ककी कस्र्टन गिलिब्रान्डले पनि केहीअघि नै उम्मेदवारी छाड्नु भएको थियो । महिला वा नारीवादी स्वरलाई दबाइएको हो कि भन्ने प्रश्नमा सिनेटर वारेनले भन्नुभयो, “महिलालाई माथिल्लो पद अझै दिनु हुँदैन भन्ने भ्रमपूर्ण मानसिकताले यसपटक पनि काम गरेको छ ।”

सिनेटर वारेनको घोषणाप्रति बाइडेन र स्यान्डर्स दुबैले ट्वीट गर्दै उहाँको प्रशंसा गर्नु भएको छ । बाइडेनले भन्नुभएको छ, “सिनेटर वारेन मध्यम वर्गीय परिवारका पक्षमा खरो रुपमा प्रस्तुत हुने प्रतिभाशाली लडाकू हुनुहुन्थ्यो । उहाँले म्यासाचुसेट्स र वासिङ्टनमा गर्नु भएको सेवाले साँच्चिकै आममानिसको जीवनमा निकै भिन्नता ल्याएको छ ।” “यस चुनावी दौडमा उहाँको आवाज अति नै जरुरी छ, र उहाँसँग सिनेटमा मिलेर कार्य गर्नुको विकल्प छैन ।” स्यान्डर्सले पनि सिनेटर वारेनले चुनावी प्रतिस्पर्धा आम अमेरिकीको जीवनलाई परिवर्तन गर्ने गरी विशिष्ट ढंगबाट अगाडि बढाउनु भएको स्मरण गर्दै अमेरिकी धनाढ्यले आम अमेरिकीको जीवनमा परिवर्तन ल्याउन न्यायपूर्ण योगदान गर्नुपर्ने, वासिङ्टनमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने, जलवायू परिवर्तनका विषयलाई सम्बोधन गर्नुपर्ने, विद्यार्थीको ऋणमोचन गर्नुपर्ने तथा महिलाको अधिकार संरक्षण गर्नुपर्ने जस्ता जल्दाबल्दा विषयलाई वारेनले उठाउनु भएको बताउनुभयो ।

“उहाँ बेगर प्रगतिशील अभियानमा ठूलो धक्का लागेको छ ।”

अघिल्लो दिन न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले पनि चुनावी प्रतिस्पर्धा त्याग्नु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वारेन र ब्लूमबर्गप्रति व्यङ्गमिश्रित ट्वीट गर्दै वारेनका कारण बर्नी स्यान्डर्सले म्यासाचुसेट्स, मिनेसोटा र टेक्सासको चुनाव हार्नु भएको र त्यसै कारण अब उहाँ अन्तिम चुनावी दौडमा पनि पराजित हुने सम्भावना बढेको बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij