• Tuesday 8th of September 2026

संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमण नयाँ उचाईमा, भारतमा लकडाउन


  • आशाका किरण
Microscopic illustration of the spreading 2019 corona virus that was discovered in Wuhan, China. The image is an artisic but scientific interpretation, with all relevant surface details of this particular virus in place, including Spike Glycoproteins, Hemagglutinin-esterase, E- and M-Proteins and Envelope.

जेनेभा, १२ चैत (रासस/एएफपी) –– विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोनाभाइरसको नयाँ मुख्य केन्द्र (इपिसेन्टर) हुन सक्ने मंगलबार चेतावनी दिएको छ । यो चेतावनी जारी हुनासाथ विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा तीन साता लामो लकडाउन घोषणा गरिएको छ । भारत समेतका बेलायत र अरु कैयौं मुलुकले भाइरसको प्रसार रोक्न भन्दै मानिसको आवतजावत र हिँडडुलमा कडाई गरेका छन् । मार्च महिनाको शुरुदेखि नै जापानदेखि संयुक्तराज्य अमेरिकासम्मको व्यापार व्यवसाय लगभग ठप्प छ । कतिपय मुलुकमा कफ्र्यु लगाइएको छ भने केही मुलुकमा सशस्त्र प्रहरी र सेना नै परिचालन गरिएको छ । इटालीको मिलानस्थित युनिक्रेडिट बैंकका प्रमुख अर्थशास्त्री एडोआर्डो क्याम्पानेल्लाले विश्वमै डरलाग्दो ठानिएको प्राणघातक कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी निम्त्याउने खतरा बढाएको बताउनुभयो । उहाँले अत्यावश्यक सेवा बाहेक सबै किसिमका व्यवसाय ठप्पप्रायः भएका छन् भने आपूर्ति शृंखला टुटेको छ भन्नुभयो ।

अमेरिकी शेयर बजारमा मंगलबार केही सुधार आएको छ । खासगरी अमेरिकी सिनेटले २ खर्ब अमेरिकी डलरको आर्थिक राहत प्याकेजमा सहमति जनाउने आशामा लगानीकर्ताहरु रहेका छन् । कोरोनाभाइरसबाट मंगलबारसम्ममा विश्वका १९४ मुलुकका तीन लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । करिब १६ हजार ५०० भन्दा बढीको ज्यान गइसकेको छ । जेनेभामा विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको बताउनुभयो । विगत २४ घण्टाको अवधिमा नयाँ भेटिएका संक्रमित व्यक्तिहरुमा ८५ प्रतिशत युरोप र संयुक्तराज्य अमेरिकाका रहेका छन् । तीमध्ये पनि ४० प्रतिशतजति अमेरिकाकै छन् । के संयुक्तराज्य अमेरिका दोस्रो इपिसेन्टर होला त भनी सोधिएको प्रश्नमा ह्यारिसले भन्नुभयो, “अमेरिकामा कोरोना संक्रमितको संख्याको वृद्धिदर बढी देखिएको छ ।

त्यसैले अमेरिका इपिसेन्टर हुने खतरा बढेको छ ।” अमेरिकामा केही राज्य तथा स्थानीय अधिकारीहरुले संघीय पदाधिकारीसँग पर्याप्त सहकार्य नभएको भन्दै गुनासो गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस नियन्त्रणमा कठिनाई रहेको स्वीकार्नु भएको छ । मास्क र भेन्टिलेटरको माग तिब्र रुपमा बढेको छ, हामीले अमेरिकी राज्यहरुलाई त्यस्ता स्वास्थ्य उपकरण तत्काल उपलब्ध गराउनेतर्फ काम गरिरहेका छौं, तर यो त्यति सहज छैन, ट्रम्पले भन्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि पूरै मुलुकभर २१ दिने लकडाउन घोषणा गर्नु भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले मे महिनाको मध्यसम्ममा भारतमा १० लाखभन्दा बढी मानिस संक्रमित हुने खतरा औंल्याएका छन् । यही कारण पनि भारत सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी सबै हवाई तथा रेलसेवा, व्यवसया र स्कुलहरु बन्द गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij