• Tuesday 8th of September 2026

विभिन्न बहानामा उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल


  • आशाका किरण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताउनुभएको छ । उहाँले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु जरुरी रहेको उल्लेख गर्नुभएको छ । “ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१औँ शताब्दीको मानव समाजलाई नै गिज्याउने गरी भएका घृणित क्रियाकलापप्रति दुःख व्यक्त गर्दै त्यस्ता क्रियाकलापलाई तत्काल सच्याउन अनुरोध गर्दछु”, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ । उहाँले देशमा कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा नेपाली स्वास्थ्यकर्मीले निर्वाह गर्नुभएको भूमिका अन्त्यन्तै प्रशंसनीय र उदाहरणीय रहेको भन्दै जोखिमका बाबजुत पनि सङ्क्रमण रोकथामका लागि योजना निर्माण र त्यसको कार्यान्वयनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

“यस्तो परिस्थितिमा पनि केही निजी स्वास्थ्य संस्थाले मानवीय मूल्य र मान्यताविपरीत विशेष प्रकृतिका बिरामीबाहेकको अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना नै नलिइ फर्काइएको र उनीहरुले उपचार नै नपाइ तड्पिनु परेको भन्ने हृदयविदारक खबरले अत्यन्तै दुःखी तुल्याएको छ, ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१औँ शताब्दीको मानव समाजलाई नै गिज्याउने गरी भएका घृणित क्रियाकलापप्रति दुःख व्यक्त गर्दै त्यस्ता क्रियाकलापलाई तत्काल सच्याउन अनुरोध गर्दछु, साथै आफ्ना सेवालाई विगतमा जस्तै निरन्तरता दिनसमेत आग्रह गर्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्रका अस्पतालको छानविन गर्ने र दोषी देखिए कारवाही गरिनेसमेत जानकारी गराउँदछु, सन्देशमा भनिएको छ । अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु जरुरी रहेको सन्देशमा उल्लेख छ । “यस विषम परिस्थितिको सामना गर्न हामी सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक छ”, मुख्यमन्त्री पौडेलले भन्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij