• Saturday 25th of July 2026

कोरानोनाबाट मृत्यु हुनेको संख्या सबैैभन्दा धेरै अमेरिकामा


  • आशाका किरण
Nurses walk inside a quarantine room for coronavirus patients at finished but still unused building A2 of the Shanghai Public Clinical Center, in Shanghai, China February 17, 2020. Noel Celis/Pool via REUTERS

सिकागो, ३० चैत (रासस/एपी/एएनआई) –– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा भएको छ । यसअघि सबैभन्दा धेरै नागरिक गुमाएको इटलीलाई समेत उछिनेर महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरसबाट पीडित हुनेमा पनि सर्वाधिक अगाडि परेको छ । शनिबार सार्वजनिक भएको तथ्यांक अनुसार अमेरिकामा २० हजार भन्दा बढीको मृत्यु भएको छ भने सबैभन्दा धेरै मानिसको मृत्यु हुने सहरमा न्युयोर्क परेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अमेरिकामा २० हजार ५८० जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या पनि ठूलो छ । अहिलेसम्म संक्रमितको संख्या अमेरिकामा पाँच लाख ५३ हजार ११५ पुगेको छ । तीमध्ये झण्डै दुई लाख जना न्युयोर्कका रहेका छन् । तर पछिल्लो समय भने न्युयोर्कमा संक्रमितको संख्यामा कमी आएको बताइएको छ ।

संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशका धेरै राज्यहरुमा अहिले संकटकालको घोषणा गरिएको छ । लकडाउन नलगाउने घोषणा गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दूरी कायम गर्ने सुझावहरू हाललाई अप्रिल ३० सम्म तोक्नु भएको छ । ट्रम्पले अवस्था सामान्यीकरण गर्नका लागि एक साताभित्रै व्यापार र स्वास्थ्य सम्बन्धी सूची सहितको आफूले गर्नुपर्ने अहिलेसम्मकै ठूलो निर्णय लिने बताउनु भएको छ । कोरोनाका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा १९ हजार ४६८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्यामा भने स्पेन दोस्रो अग्रस्थानमा रहेको छ । इटलीमा संक्रमितको संख्या एक लाख ५२ हजार २७१ रहेको बेलामा स्पेनमा भने एक लाख ६३ हजार २७ रहेको छ । स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार ६०६ रहेकाले कोरोनाका कारण मानवीय क्षती धेरे बेहोर्नेमा स्पेन तेस्रोमा रहेको छ ।

यो समाचार तयार पार्दासम्म धेरै नागरिक संक्रमित भएका देशहरु मध्येमा फ्रान्स चौथोमा, जर्मनी पाँचौमा, चीन छैठौँमा, बेलायत सातौमा, इरान आठौमा, टर्की नवौँमा र बेल्जीयम दशौँमा रहेको छ । पछिल्लो विवरण अनुसार संक्रमितको संख्या फ्रान्समा एक लाख २९ हजार ६५४, जर्मनीमा एक लाख २५ हजार ४५२, चीनमा ८२ हजार ५२, बेलायतमा ७८ हजार ९९१, इरानमा ७० हजार २९, टर्कीमा ५२ हजार १६७ र बेल्जीयममा २८ हजार १८ रहेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या फ्रान्समा १३ हजार ८३२, जर्मनमा दुई हजार ८७१, चीनमा तीन हजार ३३९, बेलायतमा नौ हजार ८७५, इरानमा चार हजार ३५७, टर्कीमा एक हजार १०१ र बेल्जीयममा तीन हजार ३४६ रहेको विवरण सार्वजनिक भएको छ । यो समाचार लेख्दासम्म विश्वभरी १७ लाख ८१ हजार ४६९ जना संक्रमित भएका छन् भने दश लाख आठ हजार ८८३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१० देशमा पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij