• Wednesday 9th of September 2026

अमेरिकाद्वारा विश्व स्वास्थ्य संगठनको बजेट सहायता कटौतीको घोषणा


  • आशाका किरण

वासिङ्टन डिसी, ३ वैशाख (रासस–एएनआई) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिनु भएको छ । चीनमा कोरोनाभाइरस फैलिएको सूचना बारेमा ढाकछोप गरेको तथा कोरोना नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो आदेश दिनु भएको हो । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “विश्व स्वास्थ्य संगठनलाई दिइआएको आर्थिक सहायता रोक्न मैले आजै प्रशासनलाई निर्देशन दिइसकेको छु । हामी यो रकम स्वास्थ्य क्षेत्रमा सोझै लगानी गर्नेछौं ।” राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना बनाउनु अघि नै विश्व स्वास्थ्य संगठनलाई यस महामारीले निम्त्याउने भयावह अवस्थाका बारेमा जानकारी रहेको दाबी गर्नु भएको छ । कोरोनाभाइरसका कारण अहिले संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित रहेको छ ।

कोरोनाभाइरस फैलिएदेखि हालसम्म संयुक्तराज्य अमेरिकामा मात्र २५ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने छ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग सम्बन्धित सूचना ढाकछोप गरेको समेतका विषयमा विश्व स्वास्थ्य संगठनमाथि नै अमेरिकी अधिकारीहरुले छानबिन गर्ने पनि बताउनुभयो । पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनसँग चीनको बढ्दो हिमचिमका बारेमा आलोचना हुन थालेको छ । विश्वभर नै संकट उत्पन्न गरेको कोरोनाभाइरसको महामारीबाट विश्वभर १ लाख २६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij