• Wednesday 9th of September 2026

नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता


  • आशाका किरण
KIRKLAND, WA - MARCH 07: A patient is transferred into an ambulance at the Life Care Center on March 7, 2020 in Kirkland, Washington. As of today, 11 residents have died from COVID-19, since February 19th. Currently, there are 63 residents in the facility, slightly more than half of the 120 residents that were here before the first case was reported. (Photo by Karen Ducey/Getty Images)

बर्नार्ड कोन्डोन, म्याट सेडेन्स्की र जिम मस्टियन (एसोसिएटेड प्रेस) न्यूयोर्क, १२ वैशाख (रासस–एपी) – कोरोनाभाइरस सङ्कटले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित दुबै बनाएको छ । अर्थात् करिब दुई महिनाको अवधिमा नर्सिङ होममा रहेबसेका ११ हजारभन्दा बढी वृद्धवृद्धाको कोरोनाभाइरसकै कारण ज्यान गएको छ । अमेरिकाभर फैलिएका यी नर्सिङ होममा आश्रित वृद्धवृद्धाको अझै पनि कोरोनाभाइरसको पर्याप्त परीक्षण गर्न नसकिएको खबरले सबैलाई सोचमग्न बनाएको छ । अझ न त संघीय सरकार न न्यूयोर्कजस्ता बढी मृत्यु भएका राज्यले नै नर्सिङ होममा रहेका व्यक्ति र त्यहाँ कार्यरत कर्मचारीको अनिवार्य स्वास्थ्य परीक्षण गर्नेतर्फ ध्यान दिएका छन । अमेरिकामा अहिले वृद्धवृद्धा र अशक्तलाई राख्न झण्डै १५ हजार नर्सिङ केयर होम सञ्चालनमा रहेका छन् । यीमध्ये करिब एक तिहाईमा मात्र परीक्षणको व्यवस्था गर्न सकिएको छ । परीक्षणपछि मात्र भाइरसको प्रसार रोक्न र बिरामी व्यक्तिलाई अलग्याउन सकिन्छ । “यसको अर्थ के भने केयर होममा रहेका सबै व्यक्तिको परीक्षण नगर्ने हो भने हामीले यस्ता कथाहरु अरु धेरै पढ्न पाउने छौं,” फेमिलिज फर बेटर केयरका लागि वकालत समूहका ब्रायन लीले बताउनुभयो ।

“एक पटक यो रोग भित्रियो भने तत्कालै यसलाई रोक्न सकिन्न । परीक्षण गर्नुपर्ने कुरा थाहा हुँदा–नहुँदै धेरै मानिसमा संक्रमण फैलिइसकेको हुन्छ । त्यसपछि त शवको थुप्रो लाग्ने न हो ।” यस्तै घटना अमेरिकाका सबैभन्दा ठूला नर्सिङ केयर होममा देखिइसकेको छ । गत हप्ता ब्रुकलिनमा रहेको एउटै नर्सिङ होममा आश्रित ५५ जनाको ज्यान गयो । त्यसपछि नर्सिङ होमका प्रमुखले वृद्धवृद्धामा सामान्य लक्षण मात्र देखिएको तर कुनै पनि व्यक्ति वा कर्मचारीको कोरोना परीक्षण नगरिएको स्वीकार गरेका थिए । भर्जिनियाको रिचमन्डस्थित एक नर्सिङ होममा हालसम्म ४९ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ । नर्सिङ होमका स्वास्थ्य निर्देशकले परीक्षण सामग्रीको अभावका कारण सबै व्यक्तिको परीक्षण गर्न झण्डै दुई हप्ता ढिला भएको स्वीकार्नु भएको छ । परीक्षण गर्दासम्म कोरोनाको फैलावट नियन्त्रण बाहिर पुगिसकेको थियो । पछि, परीक्षण गर्दा कूल ९२ जनामा कोरोना पोजेटिभ देखियो । अमेरिकन हेल्थ केयर एसोसिएशनका प्रमुख कार्यकारी मार्क पार्किन्सन केयर होममा रहेका वृद्धवृद्धा र कर्मचारीको ज्यादै थोरै प्रतिशतको मात्र परीक्षण भइरहेको बताउनुहुन्छ । उहाँको भनाईमा संघीय र राज्य सरकारले शुरुमा नर्सिङ होमलाई खासै प्राथमिकतामा राखेका थिएनन् । “यस्तो लाग्छ, हामीलाई पूरै बेवास्ता गरिएको थियो,” पार्किन्सनले भन्नुभयो ।

“पक्कै पनि अहिले अस्पतालभन्दा पनि वास्तविक लडाईं नर्सिङ होमहरुमा हुनु पर्दछ । यहाँ पहिलो प्राथमिकता दिइनु पर्दछ ।” संयुक्तराज्य अमेरिकाका झण्डै दुई तिहाई नर्सिङ होममा अझै पनि “परीक्षण किटहरूमा सहज पहुँच” छैन । झण्डै ५० हजार वरिष्ट स्वास्थ्यकर्मी सदस्य रहेको दिगो स्वास्थ्य सेवा नामको समाजसेवी संस्थाका कार्यकारी निर्देशक क्रिस ल्याक्स्टनको विचारमा नर्सिङ होमहरुले अझै पनि पर्याप्त स्रोतसाधन प्राप्त गर्न सङ्घर्ष गर्नु परिरहेको छ । “स्थानीय अस्पतालहरू र स्वास्थ्य विभागहरूसँग राम्रो सम्बन्ध विकास गरेका नर्सिङ होममात्र अहिले भाग्यमानी देखिएका छन्” ल्याक्स्टनले भन्नुभयो । सार्वजनिक स्वास्थ्य अधिकारीहरूले हाल अपनाइएका उपायहरू जस्तै शरीरको तापक्रम जाँच गर्ने कार्य पर्याप्त नरहेको तर्क गरिरहेका छन् । स्वास्थ्यकर्मीको शरीरको तापक्रम नबढेको हुनसक्छ, र उनीहरु नर्सिङ होममा निर्वाध आवतजावत गरिरहेका हुन्छन् । तर नर्सिङ होम भ्रमण गर्ने सबैको कडा र बारम्बार परीक्षणले मात्र समाधान दिन्छ ।

ह्वाइट हाउसकी भाइरस सम्बन्धी सल्लाहकार डेबोरा बक्र्सको विचारमा यी अदृश्य क्यारिअर पत्ता लगाएर तिनीहरुलाई अलग्याउन सकिए मात्र भाइरसको प्रसार रोक्न सकिन्छ । अमेरिकामा हाल दैनिक १ लाख ५० हजार व्यक्तिको परीक्षण भइरहेको छ । सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुको भनाईमा यसलाई अझ बढाउनु पर्दछ । हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा आशिष झा भन्नुहुन्छ, “भाइरसको प्रसार रोक्न हामीले दिनहुँ दशौं लाख परीक्षण गर्नु आवश्यक छ ।” संघीय स्वास्थ्य तथा मानव सेवा विभागले एसोसिएटेड प्रेससँगको जिज्ञासामा “अहिले धेरै परीक्षण भइरहेको र आफूहरुसँग पर्याप्त क्षमता रहेको” बताएको छ । अमेरिकामै वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले मात्र राज्यका सबै नर्सिङ होमहरूमा बिनाशर्त परीक्षण गर्न आदेश दिनु भएको छ । डेट्रोइट नगरका मेयर माइक डग्गनले शहरका सबै २६ वटा नर्सिङ होममा परीक्षणको आदेश दिनु भएको छ । यो परीक्षणमा प्रयोग हुने नयाँ किट्सले १५ मिनेटमै नतिजा दिन्छ ।

म्यासाचुसेट्सले यसै साता नर्सिङ होमहरूमा पठाइएका परीक्षण किटहरू एकाएक रोक्नु परेको थियो । खासगरी यी किटमध्ये करिब ४ हजार काम लाग्ने थिएनन् । न्यू हेम्पशायर, कोलोराडो, फ्लोरिडा, मेरिल्याण्ड, टेनेसी र विस्कन्सिनलगायत धेरै राज्यहरूले राष्ट्रिय गार्डलाई कोरोना परीक्षणका लागि फिल्डमा खटाएका छन् । संघीय सरकारले यसै हप्ता कोरोना संक्रमणको अवस्था ट्राक गर्ने र नर्सिङ होमको अवस्था समेतलाई समेटेर विवरण सार्वजनिक गर्ने जानकारी गराएको छ । यसैबीच, एपीले राज्यका स्वास्थ्य विभागहरू र मिडिया रिपोर्टका आधारमा संकलन गरेको विवरण अनुसार अमेरिकाभर नर्सिङ होम र दिर्घरोगीका उपचार केन्द्रहरुमा कोरोनाभाइरसको संक्रमणबाट ११ हजार २६० जनाको मृत्यु भएको छ । यीमध्ये करिब एक तिहाई न्यूयोर्कका रहेका छन् । न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले नर्सिङ होमहरुमा भएको संक्रमणलाई “सुख्खा घाँसमा लागेको आगो” को संज्ञा दिनु भएको छ । उहाँले नर्सिङ होममा बस्ने र काम गर्ने सबैले २० मिनेटभित्रै नतिजा दिने तिब्र परीक्षण गर्न आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो, “यो परीक्षण दिनहुँ लाखौंको संख्यामा गर्नु पर्ने हुन्छ ।”

कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको ब्रोङ्क्सस्थित नर्सिङ होमका मेडिकल निर्देशक डा रोय गोल्डबर्गले अझै पनि सबैको परीक्षण गर्न सम्भव नभएको बताउनुभएको छ । उहाँले ज्वरो वा खोकी देखा परेकाहरूको मात्र परीक्षण गर्ने गरिएको जानकारी दिनुभयो । यस दुर्घटनाहरूको बीचमा आशावादी घटनाहरू पनि देखा परेका छन् जसमा प्रारम्भिक र आक्रामक परीक्षणले ठूलो फरक पारेको छ । विस्कन्सिनको शेबोयगन नर्सिङ होममा दुई जनाको मृत्यु भएपछि स्थानीय अन्य बासिन्दा तथा कर्मचारीहरू बिरामी पर्न थाले । नर्सिङ होमका प्रशासक कोलिन्डा नाप्पाले फोन गरी राज्यका अधिकारीहरूसँग बिन्ती गर्नुभयो, “के भइरहेको छ भनेर मलाई थाहा भयो ।” लगत्तै नेसनल गार्डको एउटा ६५ सदस्यीय परीक्षण टोली आइपुग्यो ।

उनीहरुले टाउकोदेखि पैतालासम्मको सुरक्षा कवच लगाएका थिए । उनीहरुले नर्सिङ होममा रहेका १०० जना र १५० जना कर्मचारीको तुरुन्तै परीक्षण गरे । समग्रमा, १९ जनामा पोजेटिभ देखियो । उनीहरु सबैलाई अहिले त्यही केयर होममा वा घरमा क्वारेन्टिनमा राखिएको छ । अहिले थप व्यक्तिको मृत्यु भएको छैन । करिब ४३ जना वृद्धवृद्धाको मृत्यु भएको सियाटल क्षेत्रको एउटा नर्सिङ होममा स्वास्थ्य अधिकारीहरुले सामान्य सङ्केत देखिएका सबैको परीक्षण गरेका छन् । राज्यमा कोरोनाभाइरसका “हटस्पट” समाप्त गर्ने भन्दै अरु १९ वटा त्यस्तै नर्सिङ होममा योजनाबद्ध रुपमा परीक्षणहरु केन्द्रित गरिएको छ । गत हप्ता, वासिङ्टन विश्वविद्यालयका डा थुआन ओङको नेतृत्वमा चिकित्सा टोलीहरुले नर्सिङ होमका कोठा कोठामा गएर सबैको स्वाब सङ्कलन गरेका थिए । उनीहरुले परीक्षण गरेका सबै ११५ जनामा कोरोनाको संक्रमण देखिएन । यो कार्यले सबैमा खुशीको सीमा थिएन । “रोग फैलिनुभन्दा अघि यसलाई थाहा पाउनुको महत्व सबैभन्दा बढी छ,” डा ओङले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij