• Wednesday 9th of September 2026

ट्रक बम आक्रमणबाट सिरियामा कम्तीमा ४६ जनाको मृत्यु


  • आशाका किरण

बेरुत, १७ वैशाख (रासस–एएफपी) –– द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिस्फोट गराइएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि रमादानका लागि सामान खरिद गर्न बजारमा मानिसहरु भेला भएको अवस्थामा बिस्फोट गराइएको जनाएको छ । सिरियाली नागरिक प्रतिरक्षा समूहका उद्धारकर्मीहरुले जारी गरेका तस्वीरमा उद्धारकर्मीहरु आगोका ज्वाला निभाउन तथा ध्वस्त भएका भवनहरुबाट विभत्स शवहरु निकाल्न सक्रिय रहेको देखिएको छ । बेलायतमा मुख्यालय रहेको अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले उक्त आक्रमणबाट कम्तीमा ४६ जनाको मृत्यु भएको र ५० जना घाइते भएको बताउनुभयो । उहाँले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिनुभयो । उहाँले आक्रमणबाट कम्तीमा छ जना टर्की समर्थित सिरियाली लडाकाको पनि मृत्यु भएको बताउनुभयो ।

अब्जरभेटरीले आक्रमणबाट ११ जना बालबालिकाको मृत्यु भएको जनाएको छ । बिस्फोट कसले गराएको हो भन्ने स्पष्ट भइसकेको छैन । मार्च २०१८ मा कुर्द फौजबाट उक्त क्षेत्रलाई टर्कीका सैनिक र उनीहरुका समर्थक लडाकूले मुक्त गरेयता यो सबैभन्दा भिषण हमला हो । टर्कीको रक्षा मन्त्रालयले उक्त आक्रमणमा कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट (वाइपिजी) को संलग्नता रहेको दाबी गरेको छ । यो समूह प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टीको समर्थक लडाकू समूह हो । सिरियाली द्वन्द्वका कारण सन् २०११ यता तीन लाख ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । द्वन्द्वबाट जोगिन सिरियाका आधाभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij