• Friday 24th of July 2026

भुल्केमा थप ३३ जनाको स्वाब नमूना सङ्कलन


  • आशाका किरण

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मङ्गलबार थप ३३ जनाको स्वाब नमूना सङ्कलन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना सङ्क्रमण देखिएको भए पनि अहिले अन्य समुदायका मानिसले पनि आफूहरुको स्वाब नमूना सङ्कलन र परीक्षण हुनुपर्ने माग गरेपछि भुल्केमा थप स्वाब नमूना सङ्कलन गरेको हो । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार अहिलेसम्म भुल्केमा ३३४ व्यक्तिमा स्वाब नमूना सङ्कलन गरेको र तीमध्ये २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मुस्लिमबाहेक अन्य समुदायका स्थानीय बासिन्दाले पनि आफूहरुको स्वाब नमूना सङ्कलन र परीक्षण हुनुपर्ने माग गरेपछि मङ्गलबार थप ३३ जनामा स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । भुल्केमा ५५ घर मुस्लिम समुदाय र बाँकी ३०० घर अन्य समुदायका छन् । भुल्केवासीले प्रत्येक घरका सदस्यको स्वाब टेष्ट गर्न माग गरेपछि स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न समग्री तथा उपकरण व्यवस्थापन गर्दै भुल्केमा स्वाब नमूना सङ्कलनको दायरा बढाउँदै लगेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

पैसा नचल्दा कारोवारमा समस्या

भुल्केकेको २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् । सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरुले दिएको पैसा नलिदाँ भुल्केवासीहरुलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको छ । आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु किन्न जाँदा कोरोना सर्ने डरले पसलेले पुराना पैसा लिन नमान्ने र हातमा पञ्जा, स्यानिटाइजर नलगाई दिएको पैसा नलिने गरेको भुल्केका कमला विक बताउँछिन् । यस्तै गुनासो भुल्केका अर्का स्थानीयवासी दुर्गा थापाको पनि छ । थापा भन्नुहुन्छ, “बल्ल गाउँ छेउमा पसल त खुल्यो तर दैनिक उपभोग्य वस्तु किन्न जाँदा पुराना पैसा पसल सञ्चालकले लिन मान्दैनन्, हातमा पञ्जा, स्यानेटाइजर नलाई दिएको पैसा लिँदैनन् आफूहरुसँग त्यस्तो साधन हुन्न बरु समान नै नलिई घर फर्कनु पर्ने बाध्यता आएको छ ।” बल्ल गाउँबाट सुरक्षाकर्मीको अनुमति लिएर पल्लो पसलसम्म गएर उपभोग्य वस्तु किनौँभन्दा कोरोना सङ्क्रमण सर्ने डरले पसलले पैसा लिन नमानेका कारण अहिले गाउँलेले दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न नसकिरहेको गुनासो भुल्केवासीको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij