• Wednesday 9th of September 2026

प्रधानमन्त्री मोदीद्धारा कोभिड १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रसंशा


  • आशाका किरण
India's Prime Minister Narendra Modi talks to journalists after a Memorandum of Understanding ceremony at the President House in Naypyitaw, Myanmar, Wednesday, Sept 6, 2017. (AP Photo)

२५ वैशाख (रासस÷एएनआई) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा लागिरहेका स्वास्थ्यकर्मीहरुको प्रसंशा गर्नुभएको छ । उहाँले चिकित्सक, नर्स तथा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले यस्तो महामारीको बेलामा पनि उच्च मनोबलका साथ काम गरेको बताउनुभएको हो । उहाँले स्वास्थ्यकर्मीहरुले भगवान गौतम बुद्धले जस्तो सन्देश विश्वलाई नै दिएका पनि बताउनुभयो । भगवान गौतम बुद्ध जयन्तीका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले सो कुरा बताउनुभएको हो । यसअघि पनि उहाँले कोरोना भाइरसका विरुद्धमा संघर्ष गरिरहेका भारतका स्वास्थ्यकर्मीहरुका साथमा समग्र भारतीय नागरिक र विश्व नै रहेको र उहाँहरु एक्लो नभएको बताउनुभएको थियो । भारतमा लकडाउन जारी नै रहेको छ भने त्यहाँ दिन प्रतिदिन ठूलो संख्याका संक्रमितहरु थपिँदै गएका छन् । यस्तो अवस्थामा आज गौतमबुद्ध पूर्णिमाको अवसरमा उहाँले सबै भारतीय जनता स्वास्थ्यकर्मीहरुको साथमा रहेका बताउनुभएको हो ।

उहाँले ती स्वास्थ्यकर्मीहरुका साथमा सबै भारतीय रहेका बताउँदै भन्नुभएको छ– कोरोना भाइरसविरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन । यो महामारीका विरुद्धमा संसार नै छ । भगवान गौतम बुद्ध बलिदानको उच्चतम विन्दुको नाम हो भन्दै आज विश्वले नै उहाँलाई सेवा र बलिदानका पर्यायका रुपमा हेरिरहेको धारणा पनि राख्नुभयो । आफ्नो दृढ इच्छाशक्तिका माध्यमबाट गौतम बुद्धले विश्वमा परिवर्तन ल्याउनुभएको र विश्वलाई नै शान्तिको मार्गमा हिँडाउन उच्चतम प्रयास गर्नुभएको सो सम्बोधनका क्रममा उहाँले बताउनुभएको छ । उहाँले कोभिड १९ का विरुद्धमा लडिरहेका विश्वकै स्वास्थ्यकर्मी तथा सबैको प्रसंशा गर्नुभयो । प्रधानमन्त्री मोदीले यो कुनै एक देश वा क्षेत्रको नभएर विश्वकै शत्रुका रुपमा देखापरिरहेको भन्दै यसका विरुद्ध लड्न विश्व नै एकताबद्ध रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राख्नुभयो । सबै नागरिक घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही भएको धारणा सो सन्देशमा राख्नुभएको छ । उहाँले सो सन्देशमा यतिखेर भारतीय नागरिकले प्रदर्शन गरेको धैर्यता नै विश्वका अरु देशका लागि पनि उदाहरण भएको भन्दै यो महामारीलाई पूर्ण रुपमा नहराउँदासम्म भारत सरकारका निर्णयलाई साथ दिँदै सबैजना घरमै बस्न पनि उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री मोदीले अहिले अप्ठेरो अवस्थामा भए पनि भोलिका दिनमा छिट्टै नै यो महामारीबाट विश्व नै मुक्त हुने र अध्यारो अवस्थाबाट उज्यालोतर्फ लाग्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij