• Saturday 25th of July 2026

भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु


  • आशाका किरण

औंरगाबाद, २६ वैशाख (रासस–एएनआई) –– महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंगाबादबीच बिहान ६.३० बजे किचेको थियो । उक्त दुर्घटनामा अन्य केही मजदूर पनि घाइते भएका छन् । घाइतेहरुलाई औरंगाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थल पुगेका थिए ।

भारतीय रेलवेले मजदूरहरु रेलमार्गमा आराम गरिरहेको समयमा दुर्घटना भएको जनाएको छ । भारतीय रेलमन्त्री पियुष गोयलले उक्त घटनाको जाँचको आदेश दिनुभएको छ । संचार माध्यमहरुका अनुसार यी सबै मजदूर मध्यप्रदेशका थिए । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतक मजदूरका प्रत्येक परिवारलाई भारतीय रुपैयाँ पाँच लाख दिने घोषणा गर्नु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै ट्वीट गरी महाराष्ट्रको औरंगाबादमा भएको घटना अत्यन्त दुःखद भएको र आफू घटनाबाट मर्माहत भएको जनाउँदै आफूले रेलमन्त्रीलाई उक्त घटनाबाट पीडितलाई जतिसक्दो चाँडो सहयोग गर्न निर्देश दिएको बताउनुभएको छ । भारतमा देशव्यापी लकडाउन घोषणा गरेपछि मुम्बई, नयाँ दिल्ली समेतका ठूला शहरबाट लाखौं मजदूर पैदलै हिँडेर आआफ्ना घर फर्किरहेका छन् । पछिल्लो पटक भारतमा भएको यो दुर्घटना लकडाउनको अवधिको सबैभन्दा भयानक हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij