• Wednesday 9th of September 2026

डोटीमा किटको अभाव, कोराना परीक्षण रोकियो


  • आशाका किरण

–विमलबहादुर विष्ट डोटीमा कोरोना भाइरस परीक्षण गर्ने किट अभावका कारण भारतबाट आएका दुई हजार ४४४ जनाको परीक्षण रोकिएको छ । गत चैत १ गतेदेखि भारतबाट आएका जिल्लाका कूल चार हजार ५०० डोटेलीमध्ये एक हजार ७१९ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३३७ को पिसीआर परीक्षण गरिएको छ । किट अभावका कारण भारतबाट आएकामध्ये बाँकी रहेका दुई हजार ४४४ को कोरोना परीक्षण रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “किट सकिएको छ, भारतबाट आएका सबै नागरिकको कोरोना परीक्षण गर्न सकेका छैनौँ, किट नआउँदा परीक्षणको काम बन्द भएको छ ।” जिल्लामा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि बन्द भएको छ । पिसीआर विधिबाट गरिने कोरोना परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षणसमेत रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग कोरोना परीक्षण गर्ने किट सकिएको छ, माग गरेका छौँ, किट नहुँदा कोरोना परीक्षणको काम रोकिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसीआर मेसिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । तर आवश्यक सामग्री तथा किट नहुँदा हाल कैलालीमा मात्रै पिसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ । कोरोना परीक्षण गर्ने किट नभएका कारण भारतबाट आएका स्थानीयवासीको रोगको अवस्थाका बारेमा अहिलेसम्म बुझ्न नसकिएको स्वास्थ्यकर्मी बताउँछन् । कोरोना परीक्षण नगरिएकाहरु निर्वाधरूपमा गाउँघरमा घुमिरहेका कारण स्थानीयवासीमा यकिन जानकारी नहुँदा शङ्का उत्पन्न हुन थालेको बोगटान फुड्सिल गाउँपालिकाका हर्कबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएकाहरु गाउँमा घुमिरहेका छन्, कोरोना परीक्षण भएको छैन, कसैमा कोरोना भए सबैलाई समस्या हुन्छ ।” किट अभावमा सङ्क्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको स्वास्थ्य परीक्षण हुनसकेको छैन । भारतबाट आएका व्यक्तिलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा २१ दिन राखेर घर पठाए पनि किट अभावमा उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिमा समेत कोरोना परीक्षण हुनसकेको छैन ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसीआर र आरडिटीबाट हालसम्म १७ हजार ५२४ को कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा अहिलेसम्म तीन हजार ३७४ जना राखिएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिमभरि हालसम्म दुई हजार ९२३ जनाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये पाँच जनाको पोजेटिभ र बाँकी अन्य सबैको नतिजा नेगेटिभ आएको छ । सङ्क्रमित पाँचमध्ये चार निको भएर घर फर्किसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । पछिल्लो समय जिल्लामा आरडिटी किटको अभाव भएपछि सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारसँग किट माग गरेका छौँ, त्यहाँ पनि किट अभाव भएको रहेछ, केही दिनमा आउने जानकारी पाएका छौँ ।” कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो । तर किट अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij