• Saturday 25th of July 2026

एयरलिफ्टिङ गरेर चिकित्सक पठाउँदै कर्णाली सरकार


  • आशाका किरण

कर्णाली प्रदेश सरकारले यहाँका हिमाली जिल्लामा एयरलिफ्टिङ गरेर चिकित्सक पठाउने गरेको छ । कोरोना भाइरसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभाकारी बनाउन प्रदेश सरकारले आज प्रदेशअन्तर्गत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेश सरकारले शनिबार डोल्पा र आज हुम्लामा एयरलिफ्टिङ गरेर चिकित्सक टोली पठाएको हो । उनीहरुलाई एक महिनाका लागि पठाएको बताइएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोली लिएर हुम्ला गएको राससलाई बताउनुभयो । “डोल्पामा शनिबार चिकित्सकको टोली पठाइसकेका छौँ”, रासससँग कुरा गर्दै मन्त्री रावलले भन्नुभयो, “मुगुमा भोलि पठाउने तयारी गरिरहेका छौँ ।” अन्य जिल्लामा भने आजै स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाइएको मन्त्री रावलले जनाउनुभयो ।

सरकारले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पतालका चिकित्सकको टोलीलाई २७ स्थानमा खटाएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रीता भण्डारी (जोशी) सहितको टोलीले आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर त्यहाँको जनशक्ति, सेवा प्रवाह, पिसीआर मेसिन, भेन्टिलेटर, आइसीयू र आइसोलेसनकक्षसहित सिङ्गो भौतिक संरचनाको अनुगमन गरेको गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । “मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारको टोलीले प्रतिष्ठानका पदाधिकारी र जुम्लाका आठवटै स्थानीय तहका प्रमुखहरुसँग बसेर कोरोना प्रतिकार्य, रोकथाम, नियन्त्रण, उपचार तथा राहत कार्यक्रमका विषयमा अन्तक्र्रिया कार्यक्रम गरेको छ”, रजिष्ट्रार काफ्लेले भन्नुभयो, “त्यसमा मुख्यमन्त्री शाहीले कर्णालीलाई कोरोनामुक्त बनाउन स्वाब परीक्षणको दायरा बढाउन निर्देशन दिनुभएको छ ।”

उहाँका अनुसार प्रदेश सरकारले तोकेको २७ स्थानका साथै यहाँका ७१८ वडामा चिकित्सक टोली खटाउने, प्रत्येक वडाका १० जनाको स्वाब लिएर नमूना परीक्षण गर्ने, कोरोना नदेखिएको ठाउँमा खुकुलो गरेर सबैखाले गतिविधि सञ्चालन गर्ने र देखिएको स्थानलाई सिल गर्ने जनाइएको छ । यद्यपि यो प्रदेशमा बाहिरबाट आउन नदिन बन्दाबन्दीलाई कायम राख्ने प्रदेश सरकारले बताएको छ । मुख्यमन्त्री शाही, मन्त्री रावलसहितको प्रदेश सरकारको टोली आजै सुर्खेत फर्कने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij