• Wednesday 9th of September 2026

मन्त्री दुलालबाट ‘कोरोना औषधि’ निरीक्षण


  • आशाका किरण

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौंँडास्थित वन विज्ञान अध्ययन संस्थान(फरेस्टी क्याम्पस)को प्रयोगशालामा कोरोना भाइरस (कोभिड—१९) निर्मूल पार्ने भनी जिकिर गरिएको औषधि निरीक्षण गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक सो क्याम्पसका सहप्राध्यापक डा ललितकुमार दासले विभिन्न जडिबुटीबाट तयार पारेको भनिएको सो औषधि, प्रयोगशालाको अवस्था, औषधि निर्माणको मापदण्ड र प्रक्रिया, यसको प्रयोग र निर्माणको प्रगतिबारे डा दाससँंग जानकारी लिँदै मन्त्री दुलाले यथाशीघ्र सरकारको सम्बन्धित निकायमा सम्पर्क गरेर औषधिको विश्वसनीयता तथा उपयोगिता जाँच गराइने आश्वासन दिनुभयो ।

सो अवसरमा डा दासले मन्त्री दुलाललाई आफूले निर्माण गरेको औषधिको विवरण बुझाउँदै डेढ महिनादेखि रातदिन खटेर आफ्नो प्रयोगशालामा कोरोना रोग भाइरसबाट बच्न केही एण्टीअक्सिडेण्ट एक्टिभिटी र इन्जियोमेटिक एक्सन भएको बिरुवा लिएर शोध गरी औषधि तयार पारिएको जिकिर गर्नुभयो । डा दासले आफूले तयार पारेको औषधिको परीक्षणका लागि वन विज्ञान अध्ययन संस्थानमा जाँचको सुविधा नभएकाले सङ्घीय र प्रदेश सरकारसहित सम्बन्धित सरोकार पक्षलाई आग्रह गर्नुभयो । बाइस वर्षदेखि अनुसन्धान तथा अध्यापनरत उहाँले बनारस हिन्दू विश्वविद्यालयबाट फाइटोकेमिस्ट्रीमा विद्यावारिधि गर्नुभएको छ । यसअघि उहाँले हर्बल सेनिटाइजरसमेत बनाई प्रदेशका मन्त्रालयमा वितरण गर्नुुभएको थियो । सो क्याम्पसका प्रमुख विजय यादवले निर्माण गरिएको औषधिको परीक्षण गराउन सरकारसंँग आग्रह गर्नुभयो ।

क्याम्पसका प्रा दामोदर गैरेले जडिबुटीबाट उक्त औषधि निर्माण भएकाले यसबाट कुनै हानि नहुने जिकिर गर्दै विश्वका वैज्ञानिकहरु कोरोना औषधि निर्माणमा लागिरहेको वर्तमान अवस्थामा नेपालमा नै यस्तो औषधि बन्नाले नेपाली गौरवान्वित भएको विचार व्यक्त गर्नुभयो । उक्त औषधिको गुणस्तर जाँचपछि कोरोना संक्रमितमा परीक्षण गरिनेसमेत जनाइएको छ । एक हप्ताअघि औषधि निर्माणका सम्बन्धमा पूर्वसभामुख सुवास नेम्वाङ र डा दासबीच टेलिफोनमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij