• Saturday 25th of July 2026

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले रु एक लाख दिने


  • आशाका किरण

प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट रु एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । प्रदेशका बाँकेमा र दाङमा शववाहन खरीद गर्न नेपालगञ्ज र तुलसीपुर उपमहानगरपालिका लाई रु १५– १५ लाख अनुदान उपलब्ध गराइने र ती उपमहानगरपालिका मातहत रहने व्यवस्था गरिएको छ । शववाहनलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएमा शवको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष(स्थापना र सञ्चालन) निर्देशिका पहिलो संशोधन २०७७ लाई स्वीकृत गरेको छ । संशोधित निर्देशिकामा कोरोना नियन्त्रणमा परिचालन हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जनशक्तिको सेवासुविधाको व्यवस्था गर्नेसमेत निर्णय भएको भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले जानकारी दिनुभयो । संशोधित निर्देशिकामा कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशाला स्थापना तथा सञ्चालनमा लाग्ने आवश्यक उपकरण, औषधि, सामग्री, स्वाब सङ्कलन तथा सञ्चालनमा आवश्यक खर्चका लागि बजेट व्यवस्थापन, कोरोना उपचारका लागि आइसोलेशन केन्द्रमा रहने लक्षण नदेखिएका कोरोना संक्रमित व्यक्ति, उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खाना खर्चको व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । यस्तै बैठकले लैंगिक सम्पर्कविन्दु व्यवस्थापन र परिचालन कार्यविधि २०७७ र प्रदेश बाल क्लब सञ्जाल गठन तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७७ समेत पारित गरेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij