• Wednesday 9th of September 2026

प्रदेश नं १ बाट ३०जना कोभिड–१९ सङ्क्रमित घर फिर्ता


  • आशाका किरण

प्रदेश नं १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ बिहीबार अपराह्न घर फर्केका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । निको भइ घर फर्केनेको सङ्ख्या ७८ पुगेको छ । विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ रहेका छन् । विराटनगरबाट घर फर्केने पूर्व सङ्क्रमित गत वैशाख ५ देखि जेठ ९ गतेसम्म उपचारका लागि केन्द्रमा भर्ना भएका थिए । गत वैशाख ५ गते केन्द्रमा भर्ना भएका विराटनगर–१७ का ५७ वर्षीय कासिम मियाँलाई उदयपुरको भुल्केमा सङ्क्रमण भएको थियो । निको भएर घर जानेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मियाँ रहनुभएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

विराटनगर केन्द्रबाट आज निको हुनेमा सप्तरीका रामदुल्ला मियाँ, रवनकुमार साह, उदयपुरका मोहम्मद सविर अलि, कविरा खातुन, राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहतर, रिङ्कु सहनी, धनकुटाकी शिला लिम्बू, गणेश बुढाथोकी, बादल गनगाईं, मोरङ रतुवामाईका मुमताज आलम, झापा कचनकबलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोविन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरङ पथरी शनिश्चरेका रमेश कार्की, खोटाङका दीपेन्द्र राई र सङ्खुवासभाका निशा थापामगर रहेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले आगामी दिनमा चिकित्सकको समूह गठन गरी उनीहरुको निर्देशनअनुसार उपचार कार्य शुरु गर्ने जानकारी दिनुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा दुई श्ययाको उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा ल्याएको बताउँदै केही दिनभित्र मेची अस्पतालमा थप दुई श्ययाका केन्द्र स्थापना गर्ने बताउनुभयो । निको भइ घर जान लागेका पूर्वसङ्क्रमितलाई सम्बन्धित जिल्ला पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij