• Friday 24th of July 2026

डेमोक्र्याट पार्टीद्वारा अमेरिकी प्रहरीमा सुधारको प्रस्ताव, ट्रम्पद्वारा आलोचना


  • आशाका किरण

वासिङ्टन, २७ जेठ (रासस–एपी) – अमेरिकी तल्लो सदन कङ्ग्रेसमा बहुमतमा रहेको डेमोक्र्याट पार्टीले सोमबार व्यापक सुधार सहितको प्रहरी कार्यविधि र जवाफदेहीता समेटिएको नयाँ कानुन प्रस्ताव गरेको छ । प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा एक अश्वेत अमेरिकीको ज्यान गएको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएसँगै डेमोक्र्याट पार्टीले नयाँ प्रस्ताव अघि सारेको हो । राष्ट्रपतिका लागि चुनावी वर्ष रहेकाले डेमोक्र्याटिक पार्टीले अघि सारेको प्रस्तावमाथि राजनीतिक सहमति तत्काल बन्ने सम्भावना न्यून छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी प्रदर्शनहरु हिंसात्मक हुँदै गएपछि कानुन व्यवस्था बहाल गर्न सेना परिचालन गर्नेसम्मको चेतावनी दिएपछि त्यसको सर्वत्र आलोचना भएको थियो । कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी दासत्व युगको स्मरण गर्दै भन्नुभयो, “अमेरिकामा रुपान्तरीय संरचनात्मक परिवर्तन नगरी हामी कुनै पनि कुराको समाधान गर्न सक्दैनौं ।”

प्याकेज सार्वजनिक गर्नुअघि कङ्ग्रेस र सिनेटका डेमोक्र्याट सदस्यहरुले संसदको हलमा ८ मिनेट ४६ सेकेन्डसम्म मौनधारण गर्नु भएको थियो । त्यसबखत हालै मारिएका अश्वेत नागरिक जर्ज फ्लोएड र पछिल्ला प्रहरी कारबाहीमा मारिएका अरु केही अश्वेत व्यक्तिहरुका नाम वाचन गरिएको थियो । ह्वाइट हाउसमा कानुन कार्यान्वयन अधिकारीहरुसँग भेटघाट गर्नु भएका राष्ट्रपति ट्रम्पले डेमोक्र्याट पार्टीको शैली अनौठो रहेको प्रतिक्रिया दिनुभएको थियो । क्यापिटल हिलबाट भेला भएका प्रदर्शनकारीहरुले प्रहरी विभागलाई पुनः संरचना गर्न माग गर्दै नारा लगाएका थिए । उनीहरुले प्रहरीका लागि भइरहेको खर्चमा कटौती गर्न पनि माग गरेका थिए । तर राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भन्नुभयो, “खर्च कटौती र प्रहरी सेवा भङ्ग, यी हुनै सक्दैनन् ।”

उहाँले बैठक पछि घोषणा गर्नुभयो, “हामी प्रहरी सेवा भङ्ग गर्न सक्दैनौं ।”

डेमोक्र्याट नेताहरुले प्रहरी सेवा भङ्ग गर्न नचाहेको भन्दै राष्ट्रपतिको भनाईको प्रतिवाद गरेका थिए । पार्टीले अघि सारेको प्रस्तावले प्रहरीलाई अझ बढी जवाफदेही र पारदर्शी हुन मद्दत गर्ने उनीहरुको भनाई थियो । अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले प्रहरी सेवामा खर्च नगर्ने भनाई ठीक नभएको बताउँदै प्रहरीमा सुधारको आवश्यकतामाथि जोड दिनुभएको छ । डेमोक्र्याट पार्टीले अघि सारेको प्रस्तावले प्रहरीलाई प्राप्त असीमित संरक्षणलाई सीमित गर्नेछ । यसबाहेक प्रस्तावले प्रहरीको अतिशय बल प्रयोग र घाँटीमा थिच्नबाट बन्चित गर्नेछ । अनुशासनहीन कार्यमा संलग्न प्रहरीमाथि सहज रुपमा कारबाही चलाउन नयाँ प्रस्तावले सहयोग पुग्ने डेमोक्र्याट पार्टीको ठम्याई छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij