नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा आज भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ लक्ष्मीनगरस्थित कल्भर्टमा ठोक्किएर पुलको तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते गाउँपालिका अध्यक्ष ५२ वर्षीय शर्माको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । सोही गाडीमा सवार प्रतापपुर–५ का हरिलाल राजभर घाइते छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मन्त्रीद्वारा दुःख व्यक्त
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले नवलपरासी (सुस्ता पश्चिम), प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री त्रिपाठीले आज शोक वक्तव्य जारी गर्दै शर्माको आत्माको शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । शोक वक्तव्यमा गाउँपालिकामा शर्माले पु-याउनु भएको योगदान र निर्वाह गर्नुभएको समन्वयकारी भूमिकाको प्रशंसा गरिएको छ । कामका सिलसिलामा जिल्ला सदरमुकाम परासी जाने क्रममा सवारी दुर्घटनामा परी आज बिहान शर्माको निधन भएको थियो ।
