• Wednesday 9th of September 2026

धौलागिरि अस्पतालमा लिफ्ट सेवा


  • आशाका किरण

धौलागिरि अस्पताल बागलुङमा बिरामीको सेवालाई ध्यानमा राखी लिफ्ट निर्माण गरिएको छ । अस्पतालको भौतिक पूर्वाधार र अन्य सेवा विस्तार भएसँगै सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले लिफ्ट निर्माण गरिएको हो । अस्पतालको ‘बी’ ब्लकमा लिफ्ट निर्माणको काम अन्तिम चरणमा पुगेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ । यससँगै लिफ्ट नहुँदा सिँढी÷अपाङ्गमैत्री ¥याम्म चढेर माथिल्लो तलामा पुग्नुपर्ने बिरामीको समस्या र सकसको बाध्यता अन्त्य हुनेछ ।लिफ्ट निर्माणका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले रु ४१ लाख २४ हजार ५०० विनियोजन गरेको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो । केही समय अगाडि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना सङ्क्रमितको उपचार गराई राखेको धौलागिरि अस्पताल बागलुङ आउँदा अस्पतालको सेवा गुणस्तर र भौतिक संरचनाको स्तरोन्नति गर्ने उद्घोष गर्नुभएको थियो ।

भवनको निर्माण गर्दा लिफ्ट राख्ने स्थान बनाए पनि लिफ्ट जडान गर्ने खर्च समावेश नभएका कारण समस्या भएको थियो । अस्पतालको भूमिगतसहितको चारतले भवनमा आउजाउ गर्दा बिरामीलाई असहज भएको भन्दै लिफ्ट निर्माण गरिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । “अस्पताललाई अपाङ्ग र बिरामीको सेवाग्राहीमैत्री बनाउनको लागि सबैतिरबाट सुझाव आएको छ, सबैको सल्लाह र अस्पतालको स्तर वृद्धि गर्ने नीतिबमोजिम लिफ्ट जडान गरिएको छ” गौतमले भन्नुभयो, “यो सम्पन्नपश्चात अपाङ्ग भएका बिरामीसहित सबै खालका बिरामीलाई सहज हुनेछ ।” रु ४१ लाखमा लिफ्ट निर्माण गर्ने गरी सयपत्री सोलुशन प्रालिले जिम्मा लिएको हो । निर्माण कम्पनीले साउन १५ सम्म काम सक्ने सूचना अधिकारी गौतमको भनाइ छ । गत आर्थिक वर्षमा नैै लिफ्ट निर्माण गरी सक्ने भनिए पनि बन्दाबन्दीका कारण सम्पन्न गर्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष केबी रानाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij