• Saturday 25th of July 2026

द्विपक्षीय विषयमा छलफल गर्न नेपाल– भारत सहमत


  • आशाका किरण
New Delhi, May 31 (ANI): Prime Minister Narendra Modi meets Prime Minister of Nepal K. P. Sharma Oli for a bilateral meeting at Hyderabad House in New Delhi on Friday (ANI Photo)

नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो । प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग आज अपराह्न टेलिफोनमा कुराकानी गर्नुभएको र उहाँहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले गत चैत २८ गते प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्री मोदी र उहाँमार्फत भारत सरकार र जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति र समृद्धिको शुभेच्छा पनि प्रकट गर्नुभयो । “स्वतन्त्रता दिवसका अवसरमा आज गर्नुभएको सम्बोधनमा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरुपमा प्राथमिकतामा राखिएको बताउनुभएकामा प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो”, मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गर्नुभयो । ”

कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्रीले कोभिड–१९ विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नाका साथै महाव्याधिका क्षेत्रमा सहकार्य गर्न सहमत हुनभएको छ । महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारका प्रयासबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप चाँडोभन्दा चाँडो विकास हुनुपर्नेेतामा जोड दिनुभयो । उहाँले भारतसहित विश्वका वैज्ञानिक त्यस्तो खोप विकास गर्न सफल हुने र त्यसले रोगको रोकथाम र फैलावट नियन्त्रणमा योगदान गर्ने आशा व्यक्त गर्नभयो । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाई ज्ञापन गर्दै उक्त निकायको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भारतलाई सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij