प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको बताउनुभएको छ । थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको बताउनुभएको छ । मुख्यमन्त्रीले यी नै नेपाली समाजको विशेषता अरुका लागि पनि अनुकरणीय बनेको समेत बताउनुभएको छ ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको यसका लागि नै संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले विश्व महामारीको रुपमा आएको कोभिड—१९ विरुद्धको सङ्घर्षमा सम्पूर्ण केन्द्रित रहेको बेला राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि सम्वेदनशील हुँदै काम गरिरहेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी चाडपर्व मनाउन अनुरोध गर्नुहुँदै सिङ्गो समाजलाई कोरोना मुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगको लागि अपिल समेत गर्नुभएको छ । प्रदेश सरकारले थारु समुदायको महत्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा आज एक दिन समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
