• Tuesday 8th of September 2026

हत्याको आरोपमा दुई पक्राउ


  • आशाका किरण

नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । विवादका कारण गरिएको कुटपिटका कारण यादवको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

एकै दिन २९ संक्रमित

जिल्लामा आज एकै दिन पाँच स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) का प्रमुख गौरव ढकालका अनुसार आज प्राप्त प्रतिवेदनअनुसार थप २९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये पाँच स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, केही पाल्हीनन्दन गाउँपालिकाका कर्मचारी र अन्य विभिन्न व्यक्ति छन् । परासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीमा कार्यरत तीन चिकित्सकसहित चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गर्भवतीबाहेकका अन्य सबै खाले बिरामीलाई सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।

यसैगरी पाल्हीनन्दन गाउँपालीकाका जनप्रतिनिधि, एक स्वास्थ्यकर्मी र केही कर्मचारीसहित २५ जना छन् । जिल्लामा कोरोना भाइससको संक्रमण बढ्दै गएपछि तत्कालै कन्टयाक ट्रेसिङलाई प्राथमिकता दिइने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना संक्रमित १७२ पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij