• Saturday 25th of July 2026

सञ्चारकर्मीको निःशुल्क पिसीआर गराउन महासङ्घको आग्रह


  • आशाका किरण

नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को सङ्क्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । महामारीको सङ्क्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासङ्घले सबै सञ्चारकर्मीलाई अपिल समेत गरेको छ । सञ्चार प्रतिष्ठानले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसंगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासङ्घले आग्रह गरेको छ ।

विश्वव्यापी रुपया फैलिएको कोभिड— १९ को सङ्क्रमण पछिल्ला दिनमा नेपालमा पनि तीव्र गतिमा फैलिँदै गइरहेको उल्लेख गर्दै उहाँले महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार सङ्कलन तथा सम्प्रेषण गरिरहेको बताउनुभयो । सङ्क्रमणको दर वृद्धि भएसंगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीमा समेत कोरोना सङ्क्रमण देखिने क्रम बढेको महासङ्घले जनाएको छ । महासचिव विष्टका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी सङ्क्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन सङ्क्रमणको उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij