• Saturday 25th of July 2026

प्रसूतिगृहः २०० आइसोलेशन शय्या बनाइने


  • आशाका किरण

काठमाडौँ, ९ भदौ (रासस) : काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ । नेपालमा कोभिडको सङ्क्रमण शुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित सङ्क्रमित र सङ्क्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताउनुभयो । अस्पतालमा अहिलेसम्म सम्भावित सङ््क्रमित भनेर राखिएका एक सयमध्ये एक जनामा मात्रै कोभिड पोजेटिभ आएको थियो । अबको दिनमा सम्भावितलाई थापाथलीस्थित अस्पतालमै अरुभन्दा छुट्टै राखिने अस्पतालले जनाएको छ ।

उहाँले भन्नुभयो, “सम्भावित महिलालाई अरुभन्दा छुट्टै राखेर पोजेटिभ आए मात्रै आइसोलेशनमा राखिनेछ ।” अस्पतालले अहिलेसम्म विभिन्न कुराका आधारमा झण्डै एक सय महिलालाई सम्भावित सङ्क्रमितका रुपमा अरुभन्दा छुट्टै राखिसकेको थियो । तीमध्ये एकमा पोजेटिभ देखिएकीलाई पाटन अस्पताल पठाइएको थियो । कोभिड–१९ को संक्रमण आगामी दिनमा अझै बढ्न सक्ने भनी अस्पतालले कर्मचारी व्यवस्थापनमा समेत ध्यान दिएको अधिकारीले बताउनुभयो । कार्यरत चिकित्सकमध्ये आधा मात्रै अस्पतालमा आउने गरेका छन् । सरकारले निषेधाज्ञा जारी गरेसँगै अस्पतालले कार्यरतमध्ये सबै कर्मचारीलाई अस्पताल नबोलाएको हो । एक साता खटिएकाहरु एक साता नआउने गरी आलोपालो गरी काम तोकिएको उहाँले बताउनुभयो । अस्पतालमा कार्यरतलाई यसअघि पनि सङ्क्रमण देखिएकाले आगामी दिनमा पनि सेवा नियमित सञ्चालनका लागि योजना बनाइएको हो ।

उहाँले भन्नुभयो, “आधा मात्रै कार्यरत हुँदा सङ्क्रमण देखिएर कोही आइसोलेशन बस्दा पनि अरुले सेवा नियमित गर्न सक्छन् ।” अस्पतालले बहिरङ्ग सेवा नियमित गरे पनि सेवा लिन आउनेको सङ्ख्या नियमित समयभन्दा झण्डै आधा कम छ । अस्पतालमा अहिले सुत्केरी हुनका लागि आउने वा आकस्मिक सेवाका लागि आउनेको सङ्ख्या भने कम भएको छैन । सरकारले चार महिनासम्म बन्दाबन्दी जारी राखे पनि गत आवमा विगत वर्षभन्दा सुत्केरी हुनेको सङ््ख्या कम नभएको अस्पतालको तथ्यांकले देखाएको छ । अहिले पनि दैनिक ६० देखि ७० जनाको डेलिभरी हुने गरेकामा शल्यक्रियाको सङ्ख्या २० देखि ३० छ । उहाँले भन्नुभयो, “सामान्य डेलिभरी र शल्यक्रिया दुवै सामान्य अवस्थाभन्दा कम छैन ।” अस्पतालले कोभिड–१९ को सङ्क्रमित र अस्पतालका कर्मचारीलाई बचाउनका लागि आवश्यक सतर्कता अपनाएको छ ।

अस्पतालमा बिरामीलाई एक जना मात्रै कुरुवा बस्न पाउने र अस्पताल परिसरमा बस्दा सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छ । अस्पताल छिर्न जो कोहीले हात धुनुपर्ने अनिवार्य गरिएको छ । अस्पतालको परिसर साँघुरो भए पनि सकेसम्मको दूरी कायम गरिएको उहाँले बताउनुभयो । अस्पतालले दिनमा तीन पटकसम्म निससंक्रमण गर्ने गरिएको छ । उहाँले भन्नुभयो, “यहाँका सेवा नियमित गरेर संक्रमण पनि नफैलियोस् भन्ने गरी अस्पतालले काम गरिरहेको छ ।” अस्पतालले अहिलेसम्म कुनै पनि सेवा अवरुद्ध गरेको छैन । सामान्यावस्थामा पनि अरु जिल्लाका अस्पतालबाट रिफर भएर धेरै बिरामी समेत आउने गरेका थिए । अहिले विभिन्न निजी संस्थाले सेवा अवरुद्ध गरेका कारण अस्पतालमा प्रसूति सेवा लिन आउनेको संख्यामा कमी आएको छैन । अस्पतालमा केही समय पहिले तीन चिकित्सकसहित नौ कर्मचारीलाई कोभिड पोजेटिभ देखिएको थियो ।

त्यस्तो समयमा कुनै कुनै वार्ड मात्रै सिल गरिए पनि अस्पताल नियमित रुपमा सञ्चालनमा थियो । उहाँले भन्नुभयो, “संक्रमण देखिएकाको कन्ट्याकमा आएकाको खोजी गरेर परीक्षण गर्ने र त्यस ठाउँलाई क्लोरिनले सफा गरेर पुनः सञ्चालनमा ल्याएका छौँ ।” अस्पतालमा आउने बिरामीमध्ये संक्रमण को जोखिम देखिएकाको मात्रै परीक्षण गरिँदै आएको उपनिर्देशक अधिकारीले जानकारी दिनुभयो । कोभिडका कुनै लक्षण देखिएका बिरामी तथा हटस्पटबाट आएका वा सङ्क्रमितको नजीकको सम्पर्कमा रहेकाको अनिवार्य परीक्षण गरिँदै आएको छ । संक्रमणको शङ्का लागेकाहरुलाई अस्पतालले रिपोर्ट नआउँदासम्म छुट्टै राख्दै आएको छ । उनीहरुको पोजेटिभ आएमा आइसोलेशन शय्यामा र नेगेटिभ आएमा अरु बिरामीसँगै राखेर उपचार गरिन्छ । अस्पतालमा कार्यरत कर्मचारीलाई पहिलो चरणको सुरक्षा सामग्री मास्क, फेस शिल्ड र पञ्जाको व्यवस्था गरिएको छ । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई भने अर्काे तहको सुरक्षा सामग्रीको व्यवस्था गरिँदै आएको छ । उहाँले भन्नुभयो, “सम्भावित सङ््क्रमितको समेत उपचार गर्नेहरुलाई पिपिईलगायतका सबै आबश्यक सामग्री उपलब्ध गराइएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij