• Saturday 25th of July 2026

छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या


  • आशाका किरण

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन् । उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले दिएको साग खाएर गत बिहीबार बिहान रिजालचोकका ७१ वर्षीय देउरुपा कँडेल, उहाँकी बुहारी ३७ वर्षीया चिजा कँडेल, छोरा ३७ वर्षीय चुडामणि कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी पर्नुभएको थियो । चारै जनाको धवलागिरि अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको थियो ।

विकले आज घरभन्दा १०० मिटर तलको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । “आत्महत्या गर्नेले समेत विषालु साग स्थानीय मदिरासँग खाएको र केही बिसञ्चो भएपछि घरेलु औषधि खाएर ठिक भएको बुझ्नमा आयो”, रेग्मीले भन्नुभयो, “सागले मानसिक असर गरेको पनि हुनसक्छ अथवा साग दिएका कारण अन्य बिरामी परेका कारण तनावमा आएर आत्महत्या गरेको हुन पनि सक्दछ ।” विकको शव परीक्षणका लागि धवलागिरि अस्पताल ल्याउन थालिएको छ । विकले दिएको साग खाएपछि चारै जना बेहोस भएका र अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बिरामीमध्ये चुडामणि कँडेलको आइसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन् । विषालु साग खाएकामा मानसिक विचलन देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij