• Saturday 25th of July 2026

घाइते गाईबाच्छा उद्धार गर्न एम्बुलेन्स माग


  • आशाका किरण

सडकमा छाडिएका गाईबाच्छा घाइते हुने क्रम बढेपछि संरक्षणमा लागिपरेका अभियानकर्मीले एम्बुलेन्सको माग गरेका छन् ।सडकबाट उद्धार गरी उपचारका लागि आश्रयस्थलमा लैजान एम्बुलेन्सको माग गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताउनुभयो । उहाँका अनुसार खान नपाएर, विभिन्न रोगले ग्रसित भएर, कुकुरले टोकेर मान्छेले हिर्काएर गाईबाच्छा गर्दछन् । “असहाय गाईबाछा संरक्षण अभियानका नाममा स्वयंसेवी अभियान सञ्चालनमा छ, अभियानको आश्रयस्थलमा १०० भन्दा धेरै असहाय गाईबाच्छाले आश्रय पाएका छन्, हरेक दिन विभिन्न ठाउँबाट सडक दुर्घटनामा परेको वा विविध कारणले मरणासन्न बनेका गाईबाच्छाको उद्धारका लागि दर्जनौं फोन आउने गर्छ, हामीसँग प्रसस्तै मनहरु छन् तर उद्धारका लागि उचित साधन छैन” उहाँले भन्नुभयो । अभियानले एम्बुलेन्स खरिदका लागि आवश्यक स्रोत जुटाउन सार्वजनिक रुपमा आह्वान गरेको छ ।

एम्बुलेन्सले दिनभर उपत्यकाभित्र रहेका घाइते भएका र खानै नपाएका गाईबाच्छाको सेवा गर्ने जनाइएको छ । तीनै तहका सरकारसँग अभियानले एम्बुलेन्सको व्यवस्था गरिदिन आग्रह गरेको छ । पशुपति क्षेत्र विकास कोषले गोठाटारमा उपलब्ध गराएको करिब १०० रोपनी क्षेत्रफलमा असहाय गाईबाच्छा जम्मा गरी आश्रय दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भेगमा पनि अभियानले २०७५ जेठ १ गतेदेखि असहाय गाईबाच्छालाई संरक्षण दिँदै आएको छ । पशुपति क्षेत्रमा छोडिने गाईबाच्छाको सङ्ख्या बढेपछि पशुपति क्षेत्र विकास कोषले छाडा छोड्न आउनेलाई जरिवाना लगाउन शुरु गरेको छ । हालसम्म दुईजनालाई जरिवाना गराइएको कोषले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij