• Saturday 25th of July 2026

महामारीमा घरेलु र यौनजन्य हिंसाका घटना बढी


  • आशाका किरण

कोरना महामारीको समयमा पनि बागलुङमा महिला हिंसाका घटना बढ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय र यहाँका स्थानीय तहका न्यायिक समितिहरूमा यस्ता घटनाका मुद्दा धेरै दर्ता भएका हुन् । बन्दाबन्दी, निशेधाज्ञा र सङ्क्रमणको जोखिम बढिरहेका बेला महिला हिंसाका घटना भने रोकिएका छैनन् । यस्ता घटनामध्ये घरेलु प्रकृतिका र यौनजन्य हिंसा धेरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असोज १५ गतेसम्म प्रहरीको महिला सेललगायत विभिन्न पालिकाको न्यायिक समितिमा सयभन्दा बढी यस्ता घटना दर्ता भएका छन् ।महिला सेलमा मात्रै ५० भन्दा बढी उजुरी दर्ता भएको प्रहरी सहायक निरीक्षक अनु राईले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउन बजारक्षेत्रमा भएपनि ग्रामीण क्षेत्रमा घटना बढिरहेका छन् । अधिकांश घटनाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार र विभिन्न हिंसाका गरी २४ मुद्दा जिल्ला अदालतमा पुगेका छन् । लकडाउनको समयमा मुद्दाहरू थोरै परेकामा आंशिक खुला भएपछि भने मुद्दाको दर बढेको हो । ”

बागलुङ नगरपालिकाको न्यायिक समितिमा पनि ९ मुद्दामध्ये अधिकांश घरेलु हिंसाकै भएको कानून अधिकृत नरेन्द्रबहादुर केसीले बताउनुभयो । ताराखोला गाउँपालिकामा तीनवटा मात्रै यस्ता मुद्दा दर्ता भएको उपाध्यक्ष डिलकुमारी पुनले बताउनुभयो । ढोरपाटन नगरपालिकामा एउटै मुद्दा नपरे पनि केही मुद्दा भने प्रहरीमै दायर भएका त्यहाँका उपप्रमुख करमती पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij