• Wednesday 9th of September 2026

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रुकुममा चार हजार बेरोजगार सूचीकृत


  • आशाका किरण

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ का लागि जिल्लाका तीन गाउँपालकाबाट चार हजार १६७ व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् ।
सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हो ।
सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८४३ बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिता भुसालले बताउनुभयो । यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६ बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजक सुशीलाकुमारी सिंहले जानकारी दिनुभयो । सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७१८ बेरोजगार सूचीकृत भएका छन् । सूचीकृतलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन् ।
विपन्नको खुशी
सिस्ने – ७ को एक विपन्न परिवारको नयाँ घर बनेको छ । विदेशमा रहेका युवाको सहयोगमा सिस्ने – ७ नाथीगाडकी शान्तिदेवी विकको घर निर्माण भएको हो ।
गत भदौ ११ गते आएको हावाहुरीले विकको घरको छाना उडाइदिनाका साथै घर नै भत्किएको थियो । अहिले छिमेकीका घरमा आश्रय लिएर बसिरहनुभएकी विकको घर अमेरिका र भारतमा रहने ४९ युवाको सहयोग र स्थानीयवासीको रु ३० हजार बराबरको जनश्रमदानबाट निर्माण गरिएको छ ।
सिस्ने –७ का हाल अमेरिकामा रहनुभएका प्रेम रावतका नेतृत्वमा सङ्कलित रु चार लाख ४५ हजारले विकको नयाँ घर निर्माण भएको छ । विदेशमा सङ्कलित रकम सिस्ने –७ कै लालीगुराँस युवा विकास केन्द्रमा आएको थियो । आफ्नो संस्थामार्फत नै विकको नयाँ घर निर्माण गरिएको केन्द्रका सचिव भूपेशकुमार पुनले बताउनुभयो ।

विकको परिवारका लागि जस्तापाताको छाना भएको घर निर्माण गरिएको र शौचालय बाँकी रहेको बताइएको छ । उक्त घर गाउँपालिकाका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोबर्धन बुढाले विकलाई हस्तान्तरण गर्नुभएको छ । छिमेकीका घरमा आश्रय लिएर बस्दै आउनुभएका विक नयाँ घर पाएपछि खुशी हुनुहुन्छ ।
आफूसँग नागरिकता नभएका कारण सरकारी सेवा सुविधा उपयोग गर्न नपाएको विकको गुनासो छ । देश बाहिर रहेका युवाको सहयोगले एक विपन्न परिवारको बास जोडिएपछि सहयोगीदाताको परिवारलाई गाउँपालिका अध्यक्ष बरालले सम्मान गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij