• Wednesday 9th of September 2026

प्रहरीद्वारा रु चौध लाखको पटाका र लत्ताकपडा बरामद


  • आशाका किरण

चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ । प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट रु १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको कुर्था, तन्ना, ढाका कपडा, थान कपडालगायत रु सात लाख २१ हजार ७०० को सामान पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज मेची भन्सार कार्यालयमा दाखिला गरेको छ ।

यसैगरी, मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट १३ बोरा आतिसबाजी (पटाका)सहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजित दर्जी र टेम्पो चालक २९ वर्षीय विश्वनाथ प्रधान रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

मे १ ह ५५२७ नं को टेम्पोमा मङ्गलबार साँझ चेकजाँच गर्दा प्रहरीले बरामद गरेको ती पटाकाको मूल्य रु सात लाख रहेको छ । टेम्पोसहित पक्राउ परेका चालक प्रधान र पटाका आयातकर्ता दर्जीलाई कानूनी कार्वाहीका लागि धुलाबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । तिहार र छठ पर्व नजिकिँदै गएका कारण भारतबाट लुकिछिपी पटाका र अन्य सामान तस्करी हुनसक्ने सम्भावनालाई दृष्ट्रिगत गरी प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij