काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार ढाका प्रस्थान गर्ने भएको छ ।
ढाका जाने ३४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले बिदाई गरे । टोलीलाई बिदाई गर्दै नेपालको राष्ट्रिय झन्डा सदस्यसचिव सिलवालले फरवार्ड भरत खवास र गोलरक्षक किरण चेम्जोङलाई संयुक्त रुपमा हस्तान्तरण गरे । बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् ।
टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै अन्य ७ खेलाडी कोरोनाका कारण टोलीमा रहनेछैनन् । बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि नेपालले १२ कार्तिकबाट प्रशिक्षण थालेको थियो ।
३५ जनालाई बन्द प्रशिक्षणमा बोलाउँदा दुई चरणमा सात जनामा कोरोना पोजेटिभ देखिएको थियो । नेपाली टोली ढाका पुगेर होटेलमा नै क्वारेन्टिन बस्नेछ । कोरोना परिक्षणपछि मात्रै टोलीको प्रशिक्षणको मौका पाउनेछ । नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।
मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन् । टिम व्यवस्थापकमा कृष्णभक्त मानन्धर छन् । फिजियोमा आविस्कार पुडासैनी र सहायक फिजियोमा रोशन पुडासैनी छन् । टिम डक्टरमा प्रविन श्रेष्ठ र एन्फा मिडिया अफिसरमा विवेक सुवेदी र अर्का एक पत्रकार मुक्तिबाबु रेग्मी पनि टोलीसँगै रहनेछन् ।
नेपाली टोलीः अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन्।
हाम्रो खेलकुदबाट
