• Wednesday 9th of September 2026

मृगका कारण कोदो थन्क्याउन मुस्किल


  • आशाका किरण

स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौँडामा यतिखेर कोदो पाक्न लागेको छ । कोदो पाक्नै लागे पनि जङ्गलबाट आउने मृगका कारण किसान समस्यामा परेका छन् ।

बर्सातको समयमा दुम्सी र बाँदरबाट मकै जोगाउन हम्मेहम्मे भएका यहाँका किसानलाई अहिले भने समूहमा आउने मृगले कोदो खाइदिएर पीडा थपेको स्थानीय मोहनप्रसाद गुरुङले जानकारी दिनुभयो । पाक्नै लागेको कोदो मृगले खान थालेपछि कतिखेर मृग आउलान् भनेर बारीमा कुर्नु यतिखेर सर्वसाधारणको दैनिकीजस्तै बनेको उहाँले बताउनुभयो । बर्सातको समयमा मकै खाएर सताउन थालेपछि बाँदर तथा दुम्सी तर्साउनका लागि नगरपालिकाले प्रत्येक टोलमा एक एकवटा तर्साउने उपकरण पनि प्रदान गरेको छ ।

पछिल्ला वर्षमा गाउँ बस्तीमा खेती गर्ने क्रम घट्दै गएको र बस्ती वरपर नै जङ्गल बढेकाले बाँदर, दुम्सी, मृग आदिको सङ्ख्या बढ्दै गएको छ । भैँसेगौँडा विगतमा राम्रो मकै तथा कोदो उत्पादन हुने क्षेत्र हो । तनहुँको दुलेगौडा हुँदै स्याङ्जाको रामबाछा जोड्ने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्ने यो ठाउँ पर्यटकीयस्थलसमेत भएकाले उत्पादित कृषिजन्य वस्तु यहीँ नै खपत हुने मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक घरवासका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।

“हामीले सहस्राब्दी पदमार्गको विकाससँगै यहाँको कृषिजन्य उत्पादनमा पनि जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “कृषकलाई उत्पादनतर्फ अभिप्रेरित गर्ने लक्ष्य रहे पनि बाँदर, दुम्सी, मृग आदिको समस्या चुनौतीका रूपमा देखिएको छ ।” वन्यजन्तुबाट हुने गरेको कृषिजन्य उत्पादनको क्षतिलाई दृष्टिगत गरी सरकारले कृषकमैत्री नीति ल्याउनु आवश्यक भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij