• Tuesday 8th of September 2026

साँघुरो कोठामा अभ्यासको सकस


  • आशाका किरण
:j0f{ kbs ljh]tf wfdL wg'iff, @! dªl;/M hgsk'/df hf/L !#cf}F blIf0f PlzofnL v]ns"b -;fu_ cGtu{t zlgaf/ ePsf] s':tL k|ltof]lutfdf :j0f{ kbs ljh]tf !( jifL{of ;+uLtf wfdL . t:aL/M chos'df/ ;fx÷ /f;;

महेन्द्रनगर, २९ मङ्सिर (रासस) : सङ्गीता धामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) की स्वर्ण पदकधारी खेलाडी हुनुहुन्छ । उहाँले गत वर्ष नेपालमा सम्पन्न १३औँ सागमा कुस्तीमा स्वर्ण पदक जित्नुभएको हो । कुस्तीमा नेपालले प्राप्त गरेको त्यही नै एउटा मात्र स्वर्ण थियो । कोरोना महामारीले अन्य खेलाडीलाई जस्तै धामीलाई पनि घरमै कैद बनायो । महेन्द्रनगरकी धामी केही समययता स्थानीय कभर्डहलमा नियमित रुपमा अभ्यास गरिरहनुभएको छ ।

कभर्डहलमा उहाँले अभ्यास गर्दै आएको कोठा एकदमै साँघुरो छ । कोठा साँघुरो भएकै कारण धामीले निर्धक्क भएर अभ्यास गर्न सकिरहनुभएको छैन । कोरोनाले तहसनहस पारेको खेलजगत केही दिनयता जुर्मुराउन थालेको छ । अचेल साँझ बिहान खेलाडी अभ्यासमा जुट्न थालेका छन् । “सानो हल छ, अभ्यास गर्न आउने सबै खेलाडी अटाउँदैनन्”, धामीले भन्नुभयो, “कोठा साँघुरो हुँदा सहज रुपमा अभ्यास गर्न पाएका छैनौँ, समस्याप्रति ध्यान दिने कुनै निकाय पनि भेट्टिएको छैन ।”

गत १३औँ सागमा नेपालले कुस्तीमा १३ पदक प्राप्त गरेको थियो । कञ्चनपुरका खेलाडीको नाममा एक स्वर्ण, तीन रजत र तीन कास्य पदक रहेको थियो । सागमा एउटै खेलमा देशका लागि यति धेरै पदक बटुल्दा पनि स्थानीय तहदेखि अन्य कुनै निकायको पनि खेलाडीका समस्याप्रति ध्यान पुग्न सकेको छैन । खेलाडी र प्रशिक्षकलाई भविष्यमा बढीभन्दा बढी पदक देशका निम्ति कसरी जित्ने भन्ने चिन्ता छ । यसका लागि वातावरण भने पाउन सकेका छैनन् ।

प्रशिक्षकलाई पुराना खेलाडीको खेलस्तर कसरी राम्रो बनाउँदै जाने तथा नयाँ खेलाडी के कसरी जुटाउने भन्ने पिरलो छ । अन्य खेलमा जस्तै कुस्ती पनि यहाँका लागि सम्भावना बोकेको खेल हो ।

सधैँ खेल सामग्री र अभ्यास गर्ने ठाउँको अभावले उल्लेख्य उपलब्धि हासिल गर्न नसकिरहेको कञ्चनपुरका कुस्ती सहायक प्रशिक्षक राजेन्द्र चन्द बताउनुहुन्छ । “हाम्रा महिला र पुरुष खेलाडी देशमै अब्बल छन्, विभिन्न कुराको अभावकाबीच पनि पदक जितेकै छन्”, चन्दले भन्नुभयो, “अभ्यास गराउन पर्याप्त ठाउँ नहुँदा नयाँ खेलाडी उत्पादनमा समस्या भएको छ ।”

अभ्यास गराउन १२ मिटर लम्बाइ तथा १२ मिटर नै चौडाइ भएको हल आवश्यक पर्छ । हाल अभ्यास गराउँदै आएको कोठा तीन मिटर चौडा तथा आठ मिटर लामो छ ।
पूर्वाधार मात्र होइन आर्थिक रुपमा पनि खेलाडीले अभ्यास गर्न नसकिरहेको प्रशिक्षक चन्द बताउनुहुन्छ । पूर्वाधार निर्माण र आर्थिक रुपमा खेलाडीलाई बलियो बनाउन आवश्यक रहेको उहाँको बुझाइ छ । अवसर र वातावरण पाए सफलता प्राप्त गर्न त्यति धेरै गाह्रो नहुने १३औँ सागमा सुदूरपश्चिम प्रदेशका कुस्ती खेलाडीले सावित गरेको सागमा रजत पदक विजेता मनिषा सिंहको बुझाइ छ ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितादेखि १३औँ सागसम्म कञ्चनपुरका खेलाडीले उल्लेख्य सफलता पाएका थिए । उहाँले भन्नुभयो,“न्यून पूर्वाधार र अभावकाबीच पनि देशलाई पदक दिलाउनबाट चुकेका छैनौँ ।”

कोरोनाका कारण खेलाडीले निकै क्षति व्यहोर्नु परेको छ । कुस्तीकै एशियाली खेलकूद प्रतियोगिता खेलिसक्नुभएका सुरेश चुनारा खेल सामग्री र अभ्यास गर्न आवश्यक पूर्वाधार पाए भविष्यमा अझ धेरै गरेर देखाउन सकिनेमा विश्वस्त हुनुहुन्छ । सामान्य परिवारमा जन्मिनुभएका २१ वर्षीय चुनारा महेन्द्रनगर विभिन्न खेलको ‘हब’ भएको बताउनुहुन्छ । “उल्लेख्य पदक जित्दा पनि स्थानीय तहदेखि प्रदेश सरकारले कुस्तीका लागि केही गर्ने योजना बनाएको पाएका छैनौँ”, चुनाराले भन्नुभयो,“राष्ट्रका लागि खेल्ने खेलाडीको मनोबल उच्च बनाउने तथा उत्प्रेरित गर्ने योजनाको खाँचो छ ।”

साग खेलिसक्नुभएका प्रशिक्षक चन्द अभ्यास गर्न हल निर्माणका लागि पहल भइरहेको बताउनुहुन्छ । “अहिले क्रिकेट, बक्सिङ, कबड्डी, तेक्वान्दो, भलिबल, फुटबलसँंगै कुस्तीमा पनि इतिहास बनाएको छ”, उहाँले भन्नुभयो,“हलका लागि यहाँका जनप्रतिनिधीदेखि प्रदेश सरकारसम्मलाई गुहारेका छौँ ।” भारतको पटियालाबाट कुस्ती खेलमा डिप्लोमा कोर्स गरेर फर्किएपछि चन्द २०६५ सालदेखि कञ्चनपुरमा करारमा सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको हो ।
उहाँले त्यसयता धेरै कुस्ती खेलाडी तयार गरिसक्नुभएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा मात्रै कुस्तीको नियमित प्रशिक्षण हँुदै आएको छ । कुस्तीमा पदकको सम्भावना पनि छ । त्यसैले कुस्तीलाई राज्यले अझ प्राथमिकतामा राख्नुपर्ने यहाँका खेलाडी तथा प्रशिक्षकको माग छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij