• Tuesday 8th of September 2026

खेलकूदलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री गुरुङ


  • आशाका किरण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले खेलकूद क्षेत्रको विकासका लागि भौतिक संरचनाको निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको आज यहाँ शिलान्यास गर्नुहुँदै उहाँले दोलखा जिल्लाका राष्ट्रिय गौरवका आयोजनालाई पहिलो प्रथामिकतामा राखी आफू अगाडि बढ्ने बताउनुभयो । करिब रु २५ करोडको लागतमा रङ्गशाला निर्माण हुने बताइएको छ ।

मन्त्री गुरुङले लामो समयदेखि निर्माणाधीन माथिल्लो तामाकोशी देशकै गौरवको आयोजना भएकाले यसलाई छिटो सम्पन्न गरी विद्युत् उत्पादन गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘‘४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना जिल्लाको मात्रै नभई नेपालकै गौरवको आयोजना भएकाले यसै वर्ष निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्न आग्रह गर्दछु ।’’

उहाँले एशियाकै दोस्रो ठूलो नेपाल ओरन्टम्याग्नेसाइड खानीको उत्खनन, चलचित्र नगरीको रूपमा विकसित हुनलागेको डाङडुङे (फिल्म सिटी)को विकास र चीनसँग नाका जोडिने लामाबगर–लप्ची सडक, तामाकोशी तेस्रो जलविद्युत्लगायतका आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री गुरुङले चीनसँग जोडिने लामाबगर–लप्चीसम्मको सुरुङमार्गको ठेक्का सम्झौता पनि छिटै हुन लागेको जानकारी दिनुभयो । ‘समृद्ध दोलखा र सुखी दोलखाली’को सपनालाई आत्मसात गर्दै आफू अगाडि बढ्दै जाने उहाँको भनाइ थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसीले जिल्लालाई खेलकूदका माध्यमबाट विकास गर्न सङ्घीय सरकारबाट पनि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij