• Saturday 25th of July 2026

‘पक्की घर पाउँदा सपना जस्तै लागेको छ’


  • आशाका किरण

“यो घर हामीलाई नै देको हो र ! मलाई त सपना जस्तै लागेको छ !” रामेछापको खाँडादेवीस्थित सुनकोशी नदी किनारमा लहरै बनाइएका राता घरको नवनिर्मित माझीबस्तीको एक घरको आगनमा बस्नुभएकी २३ वर्षीया कान्छी माझी पक्कीघरमा बस्न पाउने कुराले हर्षविभोर हुनुहुन्थ्यो ।

आफ्नो एक वर्षीय छोरालाई काखमा लिनुभएकी उहाँलाई छोरा भाग्यमानी भएकोले राम्रो घरमा बस्न पाएको होकी जस्तो पनि लागेको छ । पहिला सानो सेउले घरमा बस्दै आएको उहाँको परिवारले वाग्मती प्रदेश सरकार र गाउँपालिकाले निर्माण गरिदिएको दुई कोठा, स्नानघर र शौचालयसहितको पक्की घर पाएको छ ।

उहाँ जस्तै सोमबहादुर माझी पनि घर पाएकोमा धेरै औधी खुशी देखिहुन्थ्यो । “सरकारलाई धन्यवाद, पहिला हामी अव्यवस्थित रुपमा बस्थ्यौं । जग्गा जमीन पनि थिएन । डुङ्गा चलाउने पुख्र्यौली पेशा पनि पुल बनेदेखिनै लोप भएको थियो । खोलामा माछा पाउन छाडेकाले माछामार्ने व्यवसायले पनि गुजारा चल्दैन थियो । घर बनाउने बारेमा त सोच्नसक्ने अवस्थै थिएन । सरकारले घर बनाइदियो । अब, होम स्टे सञ्चालन गर्न सघाउने भनेको छ । हामी पनि मेहनत गर्छौ, घुम्न आउनेलाई डुङ्गामा सुनकोशी घुमाउछौं, माछाका परिकार खुवाउछौं, लहरे आँपको जुस खुवाउँछौँ” उहाँले भन्नुभयो ।

खाँडादेवी गाउँपालिकासँगको सहलगानीमा प्रदेश सरकारले निर्माण गरेको माझीबस्ती रामेछाप जिल्लामा परे पनि बिपी मार्गको सिन्धुलीमाडी र धुलिखेलको समदूरीमा पर्छ । धुलिखेल वा सिन्धुलीको माडी बजारबाट बढीमा एक घण्टा ३० मिनेटको मोटर यात्रामा पुगिने मूल्कोटबाट सुनकोशी नदीमा रहेको झोलुङ्गे पुल तरेपछि पाँच मिनेटको पैदलयात्रामा पुगिने माझीबस्तीमा प्रस्तावित मध्यपहाडी लोकमार्गको निर्माणाधीन बाटो भएर हरेक प्रकारका मोटर पु¥याउन सकिन्छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीमा रहेका माझी समुदायको आयस्तर वृद्धि हुनेखालका कार्यक्रम तत्काल लागू गरिने बताउनुभयो । शनिबार माझीबस्तीको उद्घाटन गर्दै उहाँले गरीबी निवारण, विकास र समृद्धि प्रदेश सरकारको मुख्यध्येय रहेको धारणा राख्नुभयो । माझी समुदायको कला, संस्कृति र परम्परागत पेशाको संरक्षण र प्रवद्र्धन गर्न सके पर्यटन आकर्षित गर्न सकिने उहाँको भनाइ थियो ।
उहाँले प्रदेश सरकारले घरविहीन हरेक नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा प्रदेशको भूमि व्यवस्था, कृिष तथा सहकारी मन्त्रालय र खाँडादेवीको संयुक्त लगानीमा एकीकृत नमूनाबस्ती तयार भएको हो । एकीकृत बस्तीमा ४२ घर, सामुदायिक भवन, खेलमैदानलगायतका संरचना तयार भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको रु एक करोड ५० लाख र गाउँपालिकाको रु ७५ लाख गरी जम्मा रु दुई करोड २५ लाखको लागतमा बस्ती निर्माण भएको खाँडादेवीका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलका साथै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा लगायतकाको सहभागिता रहेको थियो । एकीकृत बस्तीमा ४२ दुई कोठे घर र शौचालय छन् ।

त्यस्तै सामुदायिक भवन, खेल मैदानलगायतका संरचना पनि निर्माण गरिएको छ । स्थानीय माझी समुदायको २६ रोपनीमा बस्ती बनेको हो । बस्तीलाई होम स्टेको रुपमा विकास गरी सुनकोशी नदीमा डुङ्गा तथा ¥याफ्टिङसमेत सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको गाउँपालिका–३ का वडाध्यक्ष पुष्कर कार्कीले जानकारी दिनुभयो । बिपी राजमार्गबाट सुनकोशी नदीको पारीपट्टी नदी किनारमा निर्माण गरिएको बस्ती निर्माणाधीन मध्यपहाडी मार्गसँगसमेत जोडिएको छ । माझीबस्ती माझी संस्कृतिको जानकारीस्थल तथा पर्यटन केन्द्र बन्नसक्ने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत मुसहरसहित अति सिमान्तकृत जाति समुदायका लागि एकीकृत बस्ती निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने कृषि मन्त्रालयले पनि कृषि पर्यटन प्रवद्र्धन गर्न र माझी समुदायको आयस्तरमाथि उठाउन माझीबस्ती निर्माण गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लामाले जानकारी दिनुभयोे ।

एकीकृत माझीबस्ती बाहेक प्रदेश सरकारले दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्ती विकास कार्यक्रमका लागि दुई करोड, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११ र १२ का लागि रु दुई करोड ५० लाख, सिन्धुपाल्चोकको ईन्द्रावती ५ मा प्यूघर भदौरे एकीकृत माझीबस्ती विकासका लागि रु एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझीबस्ती विकास कार्यक्रमका लागि रु ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमूना माझीबस्ती विकास कार्यक्रमका लागि रु ४० लाख, धादिङ एकीकृत बस्ती विकास कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन गरेर काम गररहेको जनाइएको छ । प्रदेश सरकारले सिन्धुलीको दूधौलीमा अति सीमान्तकृत जाति मुसहर समुदायका लागि ३५५ घरसहितको एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij