• Wednesday 9th of September 2026

नेपाल स्काउटद्वारा सातै प्रदेशका संयोजकहरु र कर्मचारीहरुका लागि सञ्चालित अभिमुखीकरण तालिम सम्पन्न


  • आशाका किरण

नेपाल स्काउटले  सातै प्रदेशका संयोजकहरु र कर्मचारीहरुका लागि ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा सञ्चालित अभिमुखीकरण तालिम भव्यताकासाथ सम्पन्न गरेको  छ । कार्यक्रमको समापन समारोहमा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले, नयाँ नेतृत्व अनि कर्मचारीहरुले पुराना स्काउटरहरुको योगदान एवम् ज्ञानको सहि सदुपयोग गर्दै संस्थागत विकासको मुल धारमा ल्याउन प्रयत्न गर्नु पर्ने बताए ।उनले पूर्णरुपमा काममा केन्द्रीत भई नेपाल स्काउटमा नयाँ ढंगबाट काम भइरहेको छ भन्ने अनुभूति दिलाउन सक्नु पर्ने, आर्थिक एवम् प्रशासनिक स्वच्छता तथा पारदर्शितामा ध्यान दिनु पर्ने कूरामा जोड दिए । कार्यक्रममा बोल्दै उनले, संस्थामा नयाँ रक्तसञ्चार गरि नेपाल स्काउटलाई नयाँ जीवन अनि गति प्रदान गर्दै यसलाई देशैभरका ७५३ स्थानीय तहसम्म पुर्याई बालबालिका तथा युवाहरुको समग्र विकासमा केन्द्रीत सबैभन्दा ठूलो र व्यवस्थित स्वयंसेवी संस्थाको रुपमा प्रमाणित गर्नु पर्ने जिम्मेवारी नयाँ नेतृत्व एवम् कर्मचारीहरुको काँधमा आएको बताए । यसलाई निर्वाह गर्न आवश्यक ज्ञान, सीप, क्षमता यस अभिमुखीकरण तालिमले प्रदान गरेको छ भन्ने विश्वास आफूले लिएको उनले बताए।तालिमको अन्तिम दिन नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले संस्थाको वार्षिक रोडम्याप प्रस्तुत गरे भने सोहि रोडम्यापको आधारमा राष्ट्रिय प्रधान कार्यालय एवम् प्रदेश कार्यालयका कर्मचारीहरुले आआफ्नो वार्षिक कार्य योजना तयार पारि प्रस्तुति समेत दिएका थिए ।तालिम अवधिभर विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्रोत व्यक्तिहरुले क्रमशः कार्यालय सञ्चालन सम्बन्धि नीति नियम, नियमावली, कर्मचारी प्रशासन, सार्वजनिक प्रशासन, सार्वजनिक खरिद नियमावली, लेखा प्रणाली, कर प्रणाली तथा प्रावधान, बेरुजु, बेरुजुका कारणहरु र यसलाई न्युनिकरण गर्ने उपायहरु, कर्मचारी तथा स्वयंसेवकबीचको सम्बन्ध, संस्थागत सुशासन, स्काउट एवं स्काउटिङ अभियानका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले स्थानीय तहमा स्काउटिङ अभियानलाई विस्तार गर्न शिक्षा, खेलकुद र युवाका क्षेत्रमा काम गर्ने निजामती कर्मचारीहरुसँग समन्वय गरेर अगाडि बढ्न सकिने बताए। यसका साथै सम्बन्धित क्षेत्रका मेयर र उपमेयरहरुसँग समन्वय गर्न सकिने बताए।नेपाल स्काउटको पुनर्संरचनाका लागि, एशिया प्यासिफिक रिजनका तर्फबाट, लामो समयदेखि परामर्श सेवा प्रदान गर्दै आएका एन.जी.अमिङ, प्रशन्ना श्रीवास्तभले, प्रदेश कर्मचारीहरुको सपथसँगै समापन भएको अभिमुखीकरण तालिमलाई जुममार्फत सम्बोधन गरेका थिए । नेपाल स्काउटलाई नयाँ उचाई एवम् गति प्रदान गर्ने कुरामा प्रदेश संयोजक एवम् नयाँ जनशक्तिले महत्वपूर्ण योगदान गर्नेछन् भन्ने आशा आफूहरुले लिएको बताए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij