• Tuesday 8th of September 2026

कैलालीमा राष्ट्रव्यापी भलिबल प्रतियोगिता फागुन ३ देखि


  • आशाका किरण

कैलालीको टीकापुरमा करिब चार वर्षपछि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । अहिले अन्य खेलकूद प्रतियोगिताको आयोजना हुँदै आए पनि भलिबल खेल नभएको भन्दै आगामी फागुन ३ गतेदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

पछिल्लो समयमा अन्य खेल विधाको तुलनामा भलिबल ओझेल पर्दै गएको भन्दै स्थानीयस्तरमा त्यसको जगेर्नाका लागि सिर्जनशील युवा समाज नेपालले राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको संयोजक नन्दसिंह विकले जानकारी दिनुभयो । “स्थानीय सरकारले पनि भलिबल खेललाई आफ्नो प्राथमिकतामा राख्न सकेन, समुदायमा भएका खेलाडी पनि विस्थापित हुँदै गएका छन्”, खेल संयोजक विकले भन्नुभयो, “यसले कतै भलिबल खेल हराउँदै जाने हो कि भन्ने त्रास पनि बढाएको छ, त्यही भएर पनि खेलको संरक्षणका लागि जनचेतना फैलाउन पनि खेलको आयोजना गर्न लागेका हौँ ।”

उहाँले भलिबल प्रतियोगितासँगै लागुऔषधविरुद्धको जनचेतनामूलक सांस्कृतिक कार्यक्रमसमेत रहने बताउँदै युवालाई खेल खेलाउनुका साथै खेलप्रति जिम्मेवार भई फुर्सदको समयमा कुलतमा नभई खेलमा जोडिन आह्वान गरिने जनाउनुभयो । खेलको विजेता टोलीले रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने खेलको दोस्रो र तेस्रोले क्रमशः रु २० हजार, प्रमाणपत्र र रु सात हजार नगद, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भलिबल खेलका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक विष्णुराज भाटले पहिले जताततै भलिबल खेलको मात्र चर्चा हुने गरेको भए पनि अहिले समुदायस्तरबाटै भलिबल विस्थापितको अवस्थामा पुगेको बताउनुभयो । “भलिबलमा स्थानीय र प्रदेश सरकारको भूमिका शून्य देखिएको छ, अन्य खेलमा सरकारको लगानी बढेपछि खेलाडी पनि अरु खेलमै आकर्षित हुन थालेका छन्”, विष्णुले भन्नुभयो, “अब राष्ट्रिय खेललाई बचाउने जिम्मेवारी हामी सबैको छ, खेल विधा र सबै खेलाडीलाई सरकारले हेर्ने दृष्टिकोण फरक हुनु पनि हुँदैन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij