सुदर्शन बजगाई,आशाका किरण समाचार । देशको संघीय राजधानी काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजमा जेभियर क्र्यु संचालनमा आएको छ । नेपाल स्काउटको सबैभन्दा लोकप्रिय कार्यक्रम रोभर रेन्जर सेक्सन जेभियर इन्टरनेशनल कलेजमा आजबाट बिधिवत रुपमा संचालनमा आएको हो ।
विश्व स्काउट संगठनको मूल्य मान्यतालाई अंगिकार गर्दै युवायुवतीलाई समाज सेवामा समर्पित गराउन र देशलाई जिम्मेवार नागरिक बनाउन कार्यक्रम आयोजना गरिएको जेभियर इन्टरनेशनल कलेजका प्रधानाध्यापक एवम् क्र्युका अध्यक्ष गोपाल भण्डारीले बताए । विहान धार्मिक सभा गरेर विद्यार्थीलाई आध्यात्मिक चिननमा जोड्दै स्काउटको प्रतिज्ञा गराईएको थियो ।
रोभर स्काउट र रेन्जर स्काउटलाई क्रमशः रोभर/रेन्जर लिडर शिवराम अर्याल/लिला श्रेष्ठले स्काउट झण्डा समातेर विद्यार्थीलाई प्रतिज्ञा गराएका थिए । कार्यक्रममा बोल्दै नेपाल स्काउटका प्रमुख लोक बहादुर भण्डारीले अब युवाहरुको हातमा स्काउट आएकोले निर्धक्क भएर स्काउटिङ अभियानमा लाग्न सबैलाई अनुरोध समेत गरेका छन् ।
पहिला बुढाहरुले दोहन गरेको संस्था अहिले वास्तविक रुपमा युवाको हातमा पुगेको भण्डारीले बताए ।कार्यक्रममा ७० जना विद्यार्थी दिक्षित भएका थिए ।
दिक्षित भएपछि समाजमा केही गरौं र राष्ट्रलाई केही योगदान दिन पाउनेमा दिक्षित स्काउटहरु ढुक्क देखिन्थे ।
अब समाजिक अभियानमा जोडिने र संसारलाई पहिलाभन्दा सुन्दर बनाउन आफुहरुको जोड रहने दिक्षित स्काउटहरुले आशाका किरणलाई बताए ।

