• Wednesday 9th of September 2026

फागुन महिनामा गैंडाछाप सिमेण्टको सर्वाधिक बिक्री गरेर उदयपुर सिमेण्ट उद्योगको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले तोडे रेकर्ड,रचे इतिहाँस


  • आशाका किरण

सुदर्शन बजगाई, आशाका किरण समाचार । २०७७ साल माघ १ गते देखि उदयपुर सिमेण्ट उद्योगको महाप्रबन्धक सम्हालेका गोपीकृष्ण न्यौपानेले २०७७ साल फागुन महिनामा यस बर्षको सर्वाधिक बिक्री गरेर रेकर्ड तोडेका छन । उद्योगमा बहाली हुंदा कोइलाको अभाव देखाइ बन्द अबस्थामा रहेको उद्योग १० दिन भित्रै कोइला लगायतका कच्चा पदार्थ बन्दोबस्त गरि संचालन गरेका छन । सिमेण्ट उत्पादन र बिक्रीको हिसाबले माघ महिनामा २१११३८ बोरा बिक्री भएको थियो भने फागुन महिनामा २३८३७१ बोरा बिक्री गरि यो यस आर्थिक बर्षको सबैभन्दा बढी बिक्री गर्न सफल भएको जनाइएको छ ।

उद्योगमा बहाली हुंदा रु. ६५ करोड ८२ लाखको चालू दायित्त्व रहेकोमा उद्योगको आफ्नै श्रोत परिचालन गरि हालसम्म रु. ३२ करोड भन्दा बढी भुक्तानी गरिसकिएको छ । कोइला लिएर भुक्तानी स्वरुप सिमेण्ट दिने कुप्रथाको कारण सिमेण्टका अधिकृत बिक्रेताहरु बन्द हुने अबस्थामा थिए । नजिकबाट विकृतिको अध्ययन गरेका न्यौपानेले त्यसको अन्त मात्र गरेनन, लक्ष्यको आधारमा कमिशन, बैंक ग्यारेण्टी सुबिधा, नगद छुट जस्ता स्किम सहितको नयाँ बिक्री नीति नै लागू गरिदिए ।

जसको कारण अहिले एक, दुई र बागमती प्रदेशमा विशेष फोकस गरि १०२ अधिकृत बिक्रेताहरु कायम गर्दै बजारमा दह्रो उपस्थिति जनाएको देखिन्छ । शुरुमा बन्द रहेको उद्योग संचालन गर्न र पुरानो कारखाना भएकोले मर्मतसम्भारमा समय दिनुपरेकोले क्लिंकर उत्पादन लक्ष्य अनुसार हुन नसकेपनि बजारमा सिमेण्टको अभाव हुन नदिनेगरी सिमेण्ट प्लाण्ट चालू राखेको कारण गैंडाछाप सिमेण्टले बजारमा निरन्तरता पाएको छ ।

यसअघि उद्योग भित्रका ट्रेड युनियनहरुले उद्योगको विकृती र विसंगति रोक्न तथा उद्योगको बजारको पकड कायम राख्न बारम्बार ब्यबस्थापनलाई अनुरोध गर्दा कुनै सुनुवाइ भएको थिएन । “सामान्य तलब सुबिधाको लागि समेत महाप्रबन्धककोमा डेलिगेसन जानुपर्थ्यो, कर्मचारीको मर्कालाई बुझेर अहिलेका महाप्रबन्धकज्यूले हरेक महिनाको ४ गते भित्रै तलब दिन थाल्नु भएको छ, १० गते भित्र नागरिक लगानी कोष, संचयकोष र १५ गतेभित्र ओटी दिनेगरि तालिकै बनाउनुभएकोले सुबिधा भएको छ” उद्योगका एक ट्रेड युनियनका अध्यक्ष स्वयंले प्रशंसा गरेका छन ।

लोडसेडिङको समयमा उद्योगको बिद्युत लाइनबाट प्रभावित क्षेत्रमा जोडिएको लाइन लोडसेडिङको अन्त भएपछि पनि हटाउन नसक्दा उद्योगले लगभग मासिक ५ लाख नोक्सानी व्यहोर्नुपरेको थियो, न्यौपाने महाप्रबन्धकमा नियुक्ति भएको केही दिनमै उक्त लाइन फेर्न सफल भएका छन । टीम वर्कमा काम गर्ने न्यौपानेलाई उच्च स्तर देखि निम्न स्तर सम्मका कर्मचारीको साथ रहेको छ भने उद्योगबाट असरग्रस्त आम नागरिकले समेत साथ सहयोग दिएका छन । आजसम्म उद्योगमा आन्तरिक लेखापरीक्षण गर्ने गरिएको थिएन, तर न्यौपाने महाप्रबन्धक भएर आएपछि चार्टर्ड एकाउण्टेन्टको टीमबाट गत पौष मसान्तसम्मको आन्तरिक लेखापरीक्षण गराइएको छ, अनावश्यक काज दिने प्रचलन हटाइएको छ, अनियमित कार्य गर्ने जो कोहीलाई कारबाही गर्ने प्रचलन शुरु भएको छ ।

विभिन्न कमिटीहरु गठन गरि यस अघि कहिल्यै नभएको सामानको भौतिक परीक्षण शुरु भएको छ । उद्योग परिसरमा यत्रतत्र रहेका कवाडी सामानहरुको कलेक्सन शुरु गरिएको छ । जग्गा जमिनको एकिन गरि संरक्षण गर्न शुरु गरिएको छ । उद्योगले डेडिकेटेड फिडर बापत बढी भुक्तानी गरेको रु. २२ करोड भन्दा बढी रकम, बिद्युत प्राधिकरणलाई तिर्न बांकी रकममा मिलान गर्न महाप्रबन्धक न्यौपानेले पहल शुरु गरेका छन ।

प्राबिधिक रुपमा किल्न लगायतका प्लाण्टको अबस्था परामर्शदाता बाट अध्ययन गराइ तत्काल मर्मत संभार शुरु गरिएको छ भने आगामी एक बर्ष भित्रै करीब ७० करोड थप लगानी गरि १ मेगावाटको ब्याकअप सोलार प्लाण्ट सहित किल्न सेल फेर्ने, रिइन्फोर्समेण्ट सस्पेन्सन प्रेहिटर जडान गरि हालको दैनिक ८ सय मे. टन बाट क्षमता बढाइ ११ सय मे. टन पुर्याउने गरि कार्ययोजना अघि बढाएको बुझिएको छ ।

श्रोतको लागि नेपाल सरकारसँग अनुरोध गरिसकिएको र सकारात्मक रुपमा अघि बढेको जनाइएको छ । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस उद्योगको अपार चूनढुंगा रहेको खानीको उपयोग गर्ने दीर्घकालीन योजनामा रहेका उनले सूसासनमा जोड दिदै सिष्टम बसाल्ने प्रयास शुरु गरेको प्रशासन प्रमुख राम बहादुर जि. सी. ले जानकारी गराए ।

यसअघिको महाप्रबन्धक न्यौपानेले औद्योगिक क्षेत्र, बैकिंग क्षेत्र, कानुनको क्षेत्र लगायतमा प्राप्त गरेको अनुभवले २ महिनामै सूसासन सहितको उत्पादन र उत्पादकत्व बृद्वी गरि उद्योगलाई छिट्टै नाफामा लैजान सक्ने संकेत देखिएको छ ।

झट्ट हेर्दा उद्योगको ५ अर्ब ५० करोडको नोक्सानी कायम रहेको भएतापनि ९५ प्रतिशत स्वदेशी कच्चापदार्थ चूनढुंगा प्रयोग गरि उत्पादन गरेको सिमेण्टबाट सरकारले बार्षिक १ अर्ब बराबरको राजस्व संकलन गर्दै आएको छ भने ३४० कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij