बिराटनगर: प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा सोमबार नेपाल स्काउट प्रदेश तदर्थ समितिले कोभिड १९ बाट संक्रमण भइ निधन भएका व्यक्तिको शव व्यवस्थापन गरेको छ ।
नेपाल स्काउट १ नम्बर प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरुको टिमले संस्थागत रुपमा पहिलो पटक कोभिड १९ बाट निधन भएका बिराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेका हुन्।
यसअघि नै संक्रमितहरुको शव व्यवस्थापनका निम्ति प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो ।
स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिएका छन्।
शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकहरुलाई अलग्गै बस्ने व्यवस्थापन गरिएको पनि घिमिरेले जानकारी दिए ।
कोभिड १९ महामारीलाई लक्षित गर्दै स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यका साथ डाक्टर अन कल हेल्पलाईन सेवा पनि सञ्चालनमा रहेको स्काउटका केन्द्रीय संयोजक लोक बहादुर भन्डारीले जानकारी दिए ।

