• Friday 24th of July 2026

न्यायपूर्ण, सभ्य, एवं समतामूलक समाज निर्माणका लागि सांस्कृतिक रूपान्तरणको खाँचो छः राष्ट्रपति


  • आशाका किरण

राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । विसं २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।
नेपालको संविधान तथा अन्तर्गतका कानूनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरे पनि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यूनचेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको समूल अन्त्य हुन नसकेकामा राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको छ ।
छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको र सो प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो औँल्याउँदै राष्ट्रपतिले यसका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकतामा जोड दिनुभएको छ ।
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरूद्धको अपराध भएकाले सो प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन राष्ट्रपतिले सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ । सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन समेत आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास उहाँल व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आजको दिनले सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij