• Saturday 25th of July 2026

स्काउटहरुलाई ७०औँ स्थापना दिवसको शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने,’म युवाहरुको साथमा छु’


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्काउटको  ७० औं स्थापना दिवसको अवसर पारेर शुभकामना दिनु भएको छ। शुभकामना दिँदै  प्रधानमन्त्री केपी ओलीले आफुहरुसधैँ  युवाहरुको साथमा रहेको बताउनु भएको छ। हेर्नुस शुभकामना जस्ताको त्यस्तै :
सम्पूर्ण स्काउट दिदिबहीनी तथा दाजुभाइहरु
सर्वप्रथम नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा उन्नत मानवीय भावनाले ओतप्रोत, नैतिक धरातलयुक्त र विकसित मुलुक बनाउन दत्तचित्तले सक्रिय स्काउट दिदीबहिनी तथा दाजुभाइहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
बालबालिका तथा युवाहरुमा शारीरीक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक भवनाको विकास गराई उनीहरुलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा बिसं २००९ (सन् १९५२) मा स्काउट अभियानको सुरुवात भएको थियो । त्यसयताका सात दशकमा मुलुकले विभिन्न क्षेत्रमा धेरै परिर्वतनहरु हासिल गरिसकेको छ ।

देश परिर्वतनका संवाहक हाम्रा वालवालिका तथा युवाहरुलाई चरित्रवान, स्वय्मसेवी, नैतिकवान र स्वावलम्वी शिक्षा सिकाई उनीहरुलाई सानै उमेरदेखि सहासिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य र स्वअध्ययनमा लगाउन नेपाल स्काउटको भूमिका उल्लेखनीय रहँदै आएको छ । फलस्वरुप देशलाई जुनसुकै संकट परेका बेला पनि उद्दार, राहत लगायतका स्वयम्सेवी कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिदैं आएको छ ।

कोभिड १९ महामारीको दोस्रो लहरमा पनि गत वर्ष झैं देशभरिका स्काउट स्वयमसेवकहरु दिनरात नभनी शब व्यवस्थापन लगायत विभिन्न स्वयम्सेवी कार्यमा सक्रियताका साथ खटिंदै आएका छन् । यस्तो प्रशंसनीय र अनुकरणीय कार्यप्रति म हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्न चहान्छु ।
आज हाम्रो देशले लिएका उद्देश्यहरु, हाम्रो देशले लिएको बाटो, देशले अपनाएका नीतिहरु र हामीले निर्धारण गरेका आजका लक्ष्यहरु स्काउटका उद्देश्यहरुसँग मिल्दाजुल्दा छन् । आजको सरकार युवाहरुको साथमा छ । आजको सरकार स्काउटको साथमा छ ।

आजको सरकार बालवालिकाहरुको साथमा छ । म तपाईंहरुको साथमा छु । हामीले लामो समय संर्घष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौँ रलोकतन्त्रलाई कार्यान्वयन गर्नका लागि प्रणाली र विधिहरु स्थापना गरेका छौँ । यिनै विधि र प्रणालीमाउभिएर, यसलाई विकसित गरेर हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएका छौँ । हाम्रो यात्रा सुशासन तर्फको हो, विकास तर्फको हो ।

विभिन्न पक्षहरुबाट भएको अवरोधका वाबजुद हाम्राहरेक पाइला समृद्ध देश निर्माण गर्ने र जनतालाई सुखी बनाउने काममा अग्रसर छन् ।

विकास र समृद्धिको यस राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालवद्ध प्रयास सहयोगी हुने छ भन्ने मैले विश्वास लिएको छु ।
प्रचुर प्राकृतिक स्रोत र विविधतायुक्त मौलिक संस्कृतिको यस देशलाई हामीले सुशासन र विकासतर्फ हिंडाइरहेका छौँ ।

नेपाललाई हामी गरिवीबाट सम्पन्नतातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेका छौँ । यसै मार्फत नेपाललाई सम्पन्न राष्ट्रको रुपमा चिनाउन हामी कृतसंकल्पित छौँ ।

नेपालस्काउटमा आवद्ध अनुशासित हाम्रो नयाँ पिँढीका प्रयासहरुले यस जीवनमय र उर्भर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने छ भन्ने मेरो विश्वास छ ।
नेपाल स्काउट नितान्त बालाबालिका र युवाहरुमा सर्वपक्षीय विकासका लागि अनौपचारिक शिक्षा प्रदान गर्ने निकाय हो ।

मैले संरक्षकत्व ग्रहण गरिसकेपछि यस संस्थामा युवाहरुको सहभागिता र सक्रियता उल्लेखनीय रुपमा वृद्धि भएको छ । नेपाल स्काउटले बालबालिकाहरुलाई सशक्त बनाउन समसामयिक, रोचक र प्रभावकारी कार्यक्रमहरु सफलता पूर्वक गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय रोभरमुट, ज्याम्बोरी, प्रदेश स्तरका तालिम लगायतका कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा हजारौं बालाबलिका तथा युवाहरु सहभागी भई ज्ञान र अनुभव प्राप्त गरिरहेका छन् ।

स्काउट र बालाबलिकाहरुका समस्या, गुनासो, जिज्ञासा र सुझावहरुलाई प्रत्यक्ष बुझ्न मेरै उपस्थितिमा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमको सुरुवात गरी हरेक वर्ष यसलाई निरन्तरता दिइएको छ ।
नेपाल स्काउटको संगठनलाई संविधान अनुकुल बनाउन सातै प्रदेश र ७५३ वटै स्थानीय पालिकामा विस्तार गरिएको छ र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत व्यापक सुधार भई नेपाल एसिया प्रशान्त क्षेत्रमै एउटा नमुना र अब्बल स्काउट सदस्यराष्ट्र बन्न सफल भएको छ ।

देशका हरेक विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तार गर्न नेपाल सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाई सञ्चालन गर्ने घोषणा समेत गरिसकेको छ ।

स्काउट शिक्षा मार्फत अब हरेक बालबालिका र युवाहरुलाई सक्षम, स्वावलम्वी र राष्ट्रप्रेमी बनाई, सामाजिक जागरण र विपद् व्यवस्थापनको क्षेत्रमा स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा first responder को रुपमा परिचालन गर्न म सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गराउन चहान्छु ।
विश्वव्यापी महामारीको यस संकटपूर्ण घडीमा सरकारले तोकेका सुरक्षा सावधानीका मापदण्डहरुलाई कडाइका साथ पालना गर्दै विस्तारै जनजीवन सहजता तर्फ उन्मुख हुनेमा म विश्वस्त छु ।

यस विषम् परिस्थितिवीच यसपालीको स्काउट स्थापना दिवस घरमै बसेर अनलाईन प्रविधिमार्फत मनाउन पनि म सबैमा आह्वान गर्दछु ।
अन्त्यमा, नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
५ असार २०७८
केपी शर्मा ओली

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij