• Tuesday 8th of September 2026

इटाली समूह विजेता, हारेको वेल्स अन्तिम १६ मा, जितेको स्विट्जरल्यान्डले कुर्नुपर्ने


  • आशाका किरण

इटाली समूह ‘ए’ को विजेता भन्दै युरो २०२० को अन्तिम १६ मा पुगेको छ। यसअघि नै अन्तिम १६ मा पुगेको इटाली लगातार तेस्रो जित हात पार्दै समूह विजेता बनेको हो।

अघिल्ला दुई खेलमा टर्की र स्विट्जरल्यान्डलाई पराजित गरेको इटालीले आइतबार राति सकिएको खेलमा वेल्सलाई १-० गोलले पराजित गर्‍यो।

इटालीको जितमा पेसीनाले ३९ मिनेटमा गोल गरेका थिए। भेराटीको फ्रिकिक बलमा उनले गोल गर्न सफल भएका हुन्।

खेलको ५५ मिनेटमा वेल्स १० खेलाडीमा सीमित भयो। वेल्सका एमपाडुले सिधा रातो कार्ड पाएका थिए।

हारका बावजुद वेल्स समूहमा दोस्रो हुँदै अन्तिम १६ मा पुग्यो।

यहि समूहको अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ गोलले पराजित गर्‍यो। स्विट्जरल्यान्डका लागि साकिरीले २६ र ६८ मिनेटमा गरी दुई गोल गरे।

त्यसअघि सेफेरोभिकले छैटौं मिनेटमा गोल गरेर स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

टर्कीका लागि इर्फान कानले ६२ मिनेटमा गोल फर्काए।

अन्तिम खेलमा जित निकाले पनि स्विट्जरल्यान्ड दोस्रो भएर अन्तिम १६ मा पुग्न सकेन।

उसले अब अन्तिम १६ मा पुग्न उत्कृष्ट तेस्रो टिम हुनु पर्नेछ। ६ समूहका ४ उत्कृष्ट तेस्रो टिम अन्तिम १६ मा पुग्नेछन्।

समूह ‘ए’ को खेल सकिँदा इटालीले ९ अंक जोड्यो। दोस्रो भएको वेल्सले ४ अंक बटुल्यो। ४ अंक नै जोडेर तेस्रो बनेको स्विट्जरल्यान्ड गोलअन्तरमा पछि पार्‍यो।

वेल्स र स्विटरल्यान्डले टर्कीलाई हराउँदा एकआपसमा बराबरी खेलेका थिए। यस्तै दुवै टिमले इटालीसँग हार बेहोरेका थिए।

तीनै खेलमा पराजित भएको टर्की भने अंकबिहीन हुँदै बाहिरियो।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij