• Friday 24th of July 2026

डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं


  • आशाका किरण

—राजेन्द्रप्रसाद पनेरु
भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ । महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो बस्ती यो वर्ष वर्षातको शुरुवातमै डुवानमा परेको छ ।

बाढीले छिमेकीसहित उहाँको घर समेत डुवानमा परेको छ । “यो भन्दा पहिले हाम्रो बस्तीमा बाढी आउदैनथ्यो । चार लेनको सडक बनाउने क्रममा महाकाली नदीमा जथाभावी बाँध बाँधेकाले हाम्रो बिचल्ली भयो”, उहाँले भन्नुभयो, “दुई दिनदेखि त्रिपालमा बसिरहेको छु ।” बस्ती पूरै डुवान हुँदा पनि सहयोगका लागि कोही नआएको उहाँको गुनासो छ । “दिनभरी मजदूरी गरेर साँझबिहान हातमुख जोर्ने जोहो मिलाएका थियौँ । सबै बाढीले बगाएर लग्यो”, एरीघाटका अर्का बाढीपीडित जयसिंह चैसिरले भन्नुभयो, “अब के खाने र कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ ।” चुनावका बेला भोट माग्न प्रायः सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता आउने भएपनि अहिले कसैले पनि वास्ता नगरेको उहाँको भनाइ छ ।

महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर पानी बस्तीमा पसेको हो । सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयवासीको भनाइ छ । “बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ । त्यतिबेला कसैले सुनेनन्”, प्रमोद भट्टले भन्नुभयो, “अहिले बस्ती नै डुवानमा परेको छ ।” बस्तीका २० घरभित्र २ फिटसम्म पानी जमेपछि त्यहाँका बाढीपीडितहरु अर्काको घरमा शरण लिएर बस्दै आएका छन । कतिपय बाढीपीडित त्रिपाल मुनि बस्न बाध्य भएका छन् । जोखिम अवस्थामा रहेका केही परिवारलाई वडा कार्यालय र नजिकको विद्यालयमा राखिएको छ । “घर भित्र बाढी पस्यो खाद्यान्न तथा लत्ताकपडा सबै बगाएर लग्यो । बालबच्चदेखि सपरिवार हिजोदेखि भोकै छौँ”, भट्टले भन्नुभयो, “भुजेला खोलाको पानीको निकास नखोजिए यसवर्ष हाम्रो उठिबास हुन्छ ।”
महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउवाले बताउनुभयो । नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरु गरेको छ । अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ । कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ । असार पहिलो साता मै बाढीले यति दुःख दिएकोमा स्थानीवासी चिन्तित भएका छन । महाकाली नदीमै बालुवा गिट्टी चालेर जिविका चलाउदै आएका तौला रानाको समेत बाढीको पानीले घर भित्र राखेको सबै खाद्यान्नलगायत सामग्री भिजाएको छ । नदीमा पानी बढेपछि रातिमा सुत्न नसकेको उहाँले बताउनुभयो । “नदीको पानी यसरी कहिल्यै पनि बस्तीमा छिरेको थिएन”, उहाँले भन्नुभयो, “यो वर्षको शुरुमै पूरै बस्ती डुवानमा पर्यो । परिवारको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।”

पहाडी क्षेत्रमा वर्षा हुने क्रम रोकिएसंगै महाकाली नदीको बहाव अहिले घट्दो अवस्थामा छ । नदीमा पानीको सतह घटेपनि डुवानमा परेका परिवारको सबै खाद्यान्न भिजेर कामै नलाग्ने अवस्थमा रहेकाले उहाँहरुलाई साँझ बिहानको छाक टार्न अप्ठेरो परेको छ । वडा र नगरपालिका कार्यालयबाट कोही पनि राहत लिएर नपुगेको डुवान पीडित परिवारको गुनासो छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij