• Friday 24th of July 2026

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने


  • आशाका किरण

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ ।

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि हाल नेपाली टोली बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणमा १९ खेलाडी सहभागी हुनुहुन्छ । बन्द प्रशिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल सहभागी हुनुहुन्छ ।

विश्वकप लिग–२ मा नेपाल रहेका समूहमा पपु्वा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । नेपाल चार खेलमा दुई जित र दुई खेलमा हारका साथ चार अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

यस्तै ओमान १० खेलमध्ये आठमा जीत र दुईएमा हार बेहोर्दै १६ अङ्कसहित शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार बेहोर्दै आठ अङ्कसहित चांैथो स्थानमा छ ।

यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अङ्कबिहीन बन्दै लिग–२ को पुछारमा रहेको छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij