• Wednesday 9th of September 2026

बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री देउवा


  • आशाका किरण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ ।

केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्षासँगै आएको बाढी, पहिराका कारण सुदूरपश्चिम र प्रदेश नं १ मा ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले आफू काठमाडौँ फर्किनासाथ आवश्यक क्षतिपूर्तिका लागि निर्णय गर्ने बताउनुभयो ।

विपद् ढोल बजाएर नआउने भएको तर अचानक आइदिएका कारण निकै नै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाका लागि केही न केही छिट्टै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले जानकारी गराउनुभयो । वर्तमान सरकारले विपद्बाट प्रभावित भएकाका लागि केही न केही राहतको प्याकेज घोषणा गरिसकेको र बाँकी रहेको राहत प्याकेज काठमाडौँ फर्किएपछि छिटै ल्याइने उहाँले विश्वास दिलाउनुभयो ।

बाढीबाट अर्बौंको क्षति भएको जनाउँदै प्रधानमन्त्री देउवाले यसलाई निराकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना नबनाइ नहुने भएकाले त्यसतर्फ पनि आफूले ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले विकास निर्माणलगायतको कार्य पछि हुँदै गर्छ तर, अहिले मानवको जीवन बचाउनु, उद्धार गर्नु, विस्थापित भएका व्यक्तिलाई स्थापित गर्नु, बसोबास नभएका व्यक्तिका लागि बसोबासको व्यवस्था गर्नु मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले बाढीले बिघौँबिघा धान नष्ट भएको, कतिपय ठाउँमा कृषकले लगाएको धान खेतमै कुहिएकाले किसानलाई खानका लागिसमेत समस्या हुने भएका कारणले छट्टै राहतको प्याकेज घोषणा गर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij