• Tuesday 8th of September 2026

मौरिसससँगको खेलमा जित हात पारेको श्रेय खेलाडीलाई जाने : मुख्य प्रशिक्षक


  • आशाका किरण

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताउनुभएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोलीले जित हात पारे त्यसको सम्पूर्ण श्रेय खेलाडीमा जाने र पराजय भोगे त्यसको जिम्मेवार आफूमात्र हुने सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको हो ।

नेपालले पहिलोपटक अफ्रिकी राष्ट्र मौरिससविरुद्ध खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने दुई मैत्रीपूर्ण खेल यही शनिबार र मङ्गलबार हुनेछ । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको घोषणासमेत गरिसकेको छ । प्रारम्भिक चरणमा रहेका ३४ खेलाडी नै छनोटमा परेका छन् ।

किरणकुमार लिम्बूले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । माल्दिभसमा व्यावसायिक फुटबल खेलिरहेका किरण मौरिससविरुद्धको दुई मैत्रपूर्ण खेल खेल्नका लागि हिजोमात्रै नेपाल आइपुगेका हुन् । प्रशिक्षक अलमुताइरीले प्रारम्भिक छनोटमा समावेश भएका ३४ खेलाडीलाई नै दुई खेलका लागि प्रयोग गर्ने निर्णय गर्नुभएको हो ।

उहाँले नतिजाभन्दा पनि खेलाडीलाई अनुभव दिनु आफ्नो मुख्य लक्ष्य रहेको यसअघि बताउनुभएको थियो । छनोट हुने ३४ सदस्यीय टोलीको गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी र टिकेन्द्र थापा छन् भने डिफेन्डरमा अनन्त तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, नवीन गुरुङ र सुमन अर्याल छन् ।

त्यसैगरी मिडफिल्डरमा आकाश बुढामगर, एरिक विष्ट, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई, आशिष राई, जगजित श्रेष्ठ र प्रशान्त अवस्थी रहेका छन् । फरवार्डमा आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल र सुशील राई छन् । मुख्य प्रशिक्षक अलमुताइरीले शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलका लागि किरणकुमार लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिश रत्न छुन्जु र जगजित श्रेष्ठलाई छनोट गर्नुभएको छ ।

त्यसैगरी दोस्रो मैत्रीपूर्ण खेलका किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुधन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आकाश राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङलाई छनोट गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij