• Wednesday 9th of September 2026

पर्यटनमन्त्री आलेद्वारा मारवाडी सेवा समितिलाई पाँच महिनाको तलब दिने घोषणा


  • आशाका किरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने घोषणा गर्नुभएको छ । समितिको ६९औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मसालामा आयोजना गरेको निःशूल्क कृतिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सो घोषणा गर्नुभएको हो । समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा सहयोग गर्दै आएको र उक्त सेवामा थप विस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिनेछु, सोमबारसम्म उक्त रकमको चेक हस्तान्तरण गर्नेछु ।” मारवाडी सेवा समितिले थप राम्रा काम गरोस् तथा दुःखी गरिबका लागि चाहिने आवश्यक सहयोग गर्न आफू पनि तयार रहेको उहाँको भनाइ थियो । सो अवसरमा मन्त्री आलेले राजनीति पेसा नभएर सेवा भएकाले आफू पनि जनताको सेवा गर्नका लागि राजनीतिमा प्रवेस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ जनताको सेवा गर्न म राजनीतिमा आएको हुँ, नेपालीको जनभावनाअनुसार काम गरीरहेको छु ।” मन्त्रालयअन्तर्गत भएका बिकृति, बिसङ्गतिबारे आफूलाई जानकारी गराउन आग्रह गर्दै मन्त्री आलेले भन्नुभयो, “सरकार कहाँ चुकेको छ, कहाँ कमजोरी भएको छ, खबर गर्नुहोस्, म तत्काल सुधार गर्ने छु, यो मेरो बाँचा भयो ।” उक्त कार्यक्रममा विभिन्न दुर्घटनामा परी खुट्टा गुमाएका नागरिकलाई निःशुल्क रूपमा कृतिम खुट्टा वितरण गरिएको पशुपति धर्मसाला गौलाका अध्यक्ष चर्तुभुज सरियाले जानकारी दिनुभयो । समितिले भुकम्पका बेलामा नागरिकलाई निःशुल्क खाना वितरणदेखि हालसम्म पाँच हजार ठाउँमा निःशुल्क रक्तदान कार्यक्रमको आयोजना गरी कम्तीमा पनि ५० हजार पीन्ट रगत सङ्कलन गरी रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको जानकारी गराएको थियो । सो समितिले खुट्टा गुमाएका नागरिकलाई निःशुल्क कृतिम खुट्टा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij