• Wednesday 9th of September 2026

तमानखोलामा ‘एक घर एक धारा’


  • आशाका किरण

भौगोलिक हिसाबले जिल्लाकै दुर्गम मानिने तमानखोला गाउँपालिकाले पछिल्लो चार वर्षमा एक हजार २०० धारा निर्माण गरेको छ । गाउँपालिकाले पानीको अभाव रहेका गाउँलाई केन्द्रित गरेर बिभिन्न परियोजना सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले अझै एक हजार घरपरिवारका लागि एक घर एक धारा पु¥याउन बाँकी छ । तमानखोला –२ को खोलेस्बाङमा पछिल्लोपटक सुरु भएको सबैभन्दा ठूलो खानेपानी आयोजना चलिरहेको छ । खोलेस्बाङ विष्णुमाया घर्तीले पानीको धारा बनाउन आफँैले गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, खानेपानीको पाइप लाइन खन्ने काममा खटिनुभएको छ ।

गाउँमा लामो समयदेखि खानेपानीको अभाव थियो । अभाव टार्न उनीहरुले दुई वर्षदेखि खानेपानीको आयोजना निर्माण गर्दैछन् । कोरोना सङ्क्रमण र निषेधाज्ञाले सोचेको बेलामा काम गर्न नपाएर ढिलाइ भएको छ । खोलाखोल्सीको पानी खाँदा बिरामी पर्ने समस्याले उनीहरुले पानीको खोजी गरेका थिए । यो अभियानमा ‘गोरखा वेयलफेयर ट्रष्ट’ दाताका रूपमा आइपुग्यो । यसपछि भने स्थानीयवासीले हौसिएर काम गर्न थालेका छन् । गाउँपालिकासँग समन्वय गरेर काम भइरहेको छ ।

दुई वर्षअघिदेखि सुरु भएको आयोजना पूरा हुने चरणमा पुगेको छ । “यति दुःख गरियो, अब घरमै खानेपानी पाइन्छ भन्ने आश छ”, उहाँले भन्नुभयो, “पानीका कारण बिहानभर खर्चनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउनसमेत सकिएको थिएन, अब सजिलो हुनेभयो ।” आगामी चैतसम्ममा घर–घरमा धारा ल्याउने गरी स्थानीयवासीले काम गरेका हुन् । वर्षात्मा नजिकै पानीका स्रोत पाए पनि हिउँद र सुक्खायाममा बढी समस्या थियो । त्यसैले उनीहरुले पानी खेप्ने सास्ती खेपेका थिए ।

स्थानीयवासीले खेपेको दुःखबाट दाता खोज्ने क्रममा सस्था भेट्टाएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो । उहाँले बिद्यालय, सामुदायिक भवनसहित घर–घरमा धारा जडान गरेर उपभोक्तालाई शुद्ध पानी खुवाउन लागेको बताउनुभयो । “विसं २०३३ को आयोजनाबाट पानी खाइरहेका थियौँ, ती धारा मेटिएका थिए, मुहान सुकेको थियो, खोल्साखोल्सी धाउन बाध्य थियौँ”, उहाँले भन्नुभयो, “अहिले त धेरै टाढाबाट पानी ल्याउँदैछौँ”, उहाँले सिद्दभिर भन्ने स्थानबाट पानी ल्याउन लागेको बताउनुभयो । उक्त स्थान गाउँदेखि झण्डै १० किमी पर छ ।

रु ६० लाख सस्थाको लगानी भएको आयोजनामा स्थानीयवासीको श्रमदानसमेत गर्दा रु एक करोड बढी लागत लागेको उहाँले जानकारी दिनुभयो । “यो आयोजना सम्पन्न भयो भने कम्तीमा २० वर्षलाई ढुक्क हुन्छ”, उहाँले भन्नुभयो, “केही दुःख भए पनि दिगोरूपमा घर–घरमा धारासमेत राखेर आयोजना सम्पन्न गर्दैछौँ ।” ढुवानीको समस्या भएकाले स्थानीयवासीले पनि आयोजनामा धेरै लगानी गरेको उहाँले बतउनुभयो ।

आयोजनाका सामाजिक सुपरीवेक्षक दुर्गा लिम्बूका अनुसार यो आयोजनाबाट १४७ धारा जडान हुनेछन् । तीमध्ये पाँच विद्यालय, आमा समूह, सामुदायिक भवन छन् । तमानखोलाका अध्यक्ष जोकलाल बुढाले तमानगाउँलाई त शुद्ध खानेपानीसहित पूर्ण सरसफाइ गाउँ घोषणाको तयारीमा पु-याइसकेको बताउनुभयो । तमानखोलामा नेपाल स्वास्थ्यका लागि पानी (नेवा), गण्डकी प्रदेश र स्थानीय तहसमेतको लगानीमा अन्य खानेपानी आयोजना निर्माण भइरहेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij