• Saturday 25th of July 2026

खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ : केपी ओली


  • आशाका किरण

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि जारी नेपाल आइस पाँचौँ झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।

“खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सबै पार्टी, सबै सङ्घसंस्था र सरोकारवालालाई लाग्न म आग्रह गर्छु ।” खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू सदैव लागिपरेको र लागिपर्ने धारणा राख्नुभयो । झापा गोल्ड कपको सफताको कामना गर्दै अध्यक्ष ओलीले खेलाडीलाई इमान्दार भएर खेल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “खेलमा दक्षता प्रयोग गर्नुहोस्, कपट होइन, दक्षताबाटै खेल जित्न म आग्रह गर्छु ।”

आफ्नो पार्टी नेकपा (एमाले)ले खेल क्षेत्रको विकासलाई विशेष महत्व दिएको उहाँको भनाइ थियो । रङ्गशाला निर्माणका लागि डोमालाल राजवंशीको परिवारले दान दिएको जग्गामा कसैले आँखा नलाउन उहाँले आग्रह गर्नुभयो ।

“म डोमालाल राजवंशी परिवारलाई धन्यवाद दिन्छु, जसले जग्गा दान दिएर रङ्गशाला बनेको छ”, उहाँले भन्नुभयो, “अरुले दान दिएको जग्गामा कसैले आँखा लगाउनु हुँदैन ।” विभिन्न १० वटा टिम सहभागी पाँचौँ संस्करणको झापा गोल्ड कपको विजेताले नगद रु १२ लाख ५५ हजार र उपविजेताले नगद रु छ लाख पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।

साथै मस्ट भ्यालुएबल प्लेयरलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २१ हजार, उच्च गोलकर्तालाई रु २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु नौ हजार ९९९ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij