• Tuesday 8th of September 2026

आरन पेशा विस्थापित हुने अवस्थामा


  • आशाका किरण

ब्यास नगरपालिका–५ कन्टार निवासी भुमबहादुर विकले आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । आफू आठ वर्षको उमेर हुँदा बुवाले छाडेर गएपछि बुवाको पुख्र्यौली पेशालाई अँगाल्दै आउनुभएको हो । आरन व्यवसायबाट राम्रै कमाइ हुने गरे पनि पछिल्लो समय कोइला पाउन छाडेपछि पेशा विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

सामुदायिक वनमा गएर काठ काटेर कोइला बनाउन नपाएपछि पेशा नै छाड्नुपर्ने समस्या आएको उहाँ बताउनुहुन्छ । सामुदायिक वनमा पस्न दिँदैनन् । उहाँले भन्नुभयो, “खाना पकाउन प्रयोग गरिएको दाउराबाट बनेको कोइलाले जेनतेन जीविकोपार्जजन गर्दै आएको छु ।” उक्त वडाभरि उहाँ नै आरन व्यवसाय सञ्चालन गर्ने एक व्यक्ति हुनुहुन्छ । राम्रो कोइलाको लागि सालको काठ आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । पछिल्लो समय बाली प्रथा छाडे पनि हसियाँ, कोदालो, बन्चारोलगायतका हतियार अर्जाबेको रु ३० देखि ८० सम्म लिने गरेको उहाँले जानकारी दिनुभयो ।

वनमा काठ कुहिएर त्यत्तिकै खेर जान्छ तैपनि काट्न पाइँदैन । उहाँले थप्नुभयो, “वर्ष दिनमा एक दिन वन खुल्छ, खाना पकाउनका लागि दाउरा काट्न पाइन्छ तर कोइलाका लागि पाइँदैन ।” पुख्यौली घर पर्यटकीयस्थलका रूपमा परिचित सोही वडाको मानुङकोटमा भए पनि बुवाको निधनपश्चात बेँसी बसाइँ झरेको उहाँ बताउनुहुन्छ । “आफूले जानेको पेशा यही हो, कोइलाको अभावमा पेशा नै विस्थापित हुँदा रोजीरोटी गुम्ने खतरा देखिएको छ” विकले भन्न्ुभयो ।
वर्षौँदेखि आरन पेशा अँगालेर स्थानीयलाई सेवा दिँदै आए पनि हालसम्म कहीँकतैबाट अनुदानका सुविधा पाउन नसकेको उहाँले दुःखेसो पोख्नुभयो । उक्त वडाका पतेनी, साँघे, कन्टार, पाटनलगायतका मानिस आरनमा काम दिन आउने गरेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij